२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

संयुक्त राष्ट्रसंघीय कर्मचारी : एक तिहाइमाथि यौन दुर्व्यवहार

‘निकै कमले प्रतिक्रिया दिनुको अर्थ संस्थामा सुधार गर्न आवश्यक’
एजेन्सी

न्युयोर्क — संयुक्त राष्ट्रसंघमा काम गर्ने ३३ प्रतिशत कर्मचारी गत दुई वर्षयता यौन दुर्व्यवहारको सिकार भएको खुलासा भएको छ । गत नोभेम्बर महिनामा एक परामर्श कम्पनी डलोइटले ३० हजार ३ सय ६२ जना स्थायी तथा अस्थायी कर्मचारीमा गरेको सर्वेक्षणमा प्रत्येक तीनमध्ये एकले यौन दुर्व्यवहार भोगेको उजागर भएको हो । 

संयुक्त राष्ट्रसंघीय कर्मचारी : एक तिहाइमाथि यौन दुर्व्यवहार

डेलोइटको प्रतिवेदनअनुसार १० हजार ३२ अर्थात् ३३ प्रतिशतले आफूहरू यौन दुर्व्यवहारको सिकार भएको बताएका हुन् । तीमध्ये ३८.७ प्रतिशतले त्यस्तो घटना कार्यालयकै वातावरणमा भएको बताए । प्रतिवेदनअनुसार २१.७ प्रतिशतले आफूहरूलाई अनुचित लाग्ने यौनसम्बन्धी कथा वा चुड्टिला सुनाइएको बताए । त्यसैगरी, १४.२ प्रतिशतलाई कुनै व्यक्तिको पहिरन, चालडाल, शरीर तथा यौन क्रियाकलापबारे अनुचित टिप्पणी गरी दुर्व्यवहार गरिएको जनाएका हुन् ।


त्यसैगरी, १०.१ प्रतिशतले आफूहरूलाई असहज लाग्ने गरी स्पर्श गरिएको जनाए । ९.१ प्रतिशतले यौनसम्बन्ध स्थापित गर्नका लागि कोसिस गरेको तथा १.३ ले बलात्कारलगायतका यौन आक्रमण गरेको उल्लेख गरेका छन् ।


दुर्व्यवहार गर्नेहरूमध्ये दुईतिहाइ पुरुष भएको डेलोइटको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार दुर्व्यवहारको सिकार भएकामध्ये एकतिहाइभन्दा कमले मात्र कारबाहीका लागि प्रयत्न गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले कर्मचारीलाई लेखेको पत्रमा ‘निकै कम मात्रले प्रतिक्रिया दिनुको अर्थ उक्त संस्थाभित्र अझै धेरै सुधार गर्न बाँकी रहेको देखिएको’ प्रतिक्रिया दिएका छन् । उनले यौन दुर्व्यवहारमा आरोपीमाथि छानबिन सुरु गरिएको तथा दोषीलाई राष्ट्रसंघअन्तर्गतका निकायमा नियुक्त नगर्ने संयन्त्रको विकास गरिएको जनाए ।


यौन दुर्व्यवहारको विरोधमा विश्वव्यापी रूपमा ‘ह्यासट्याग मीटू’ अभियान चलिरहेका बेला उक्त सर्वेक्षण प्रतिवेदन सार्वजनिक भएको हो । सर्वेक्षणमा तुलनात्मक रूपमा थोरै सहभागी हुनुको अर्थ राष्ट्रसंघभित्र ‘जारी अविश्वासको भावना, कुनै कारबाही नहुने आशंका तथा जवाफदेहीपनको अभाव’ रहेको गुटरेजको भनाइ छ । उनले भने, ‘मानव अधिकार तथा समानताको जगमा उभिएको हाम्रो जस्तो संस्थाले उदाहरणीय कार्यसहित अगुवाइ गर्नैपर्छ ।’


केही वर्षयता राष्ट्रसंघीय मिसनअन्तर्गत विभिन्न अफ्रिकी देशमा रहेका शान्ति सेनाले यौन दुव्र्यवहार गर्ने गरेको आरोप लाग्दै आएको छ । तर यौन दुर्व्यवहार गर्ने कर्मचारी तथा सेनालाई राष्ट्रसंघले कारबाही गर्न चुकेको आलोचना हुने गरेको छ । राष्ट्रसंघले दुर्व्यवहारका आरोप लागेका कर्मचारीको देशको नाम सार्वजनिक गरिदिने नीति अख्तियार गरेको बताउने गर्छ ।

प्रकाशित : माघ ४, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?