सीमा पर्खाल निर्माण विवाद : ट्रम्पद्वारा सभामुखको भ्रमण रद्द

एएफपी

वासिङ्टन — अमेरिकी संघीय कार्यालयहरू बजेट अभावमा बन्द भएको एक महिना पुग्नै लाग्दा अमेरिकामा राजनीतिक विवाद थप चर्किएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्रयाट पार्टीकी नेतृ तथा तल्लो सदनकी सभामुख नान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिएका छन् । यसका साथै ट्रम्पले स्विटजरल्यान्डको डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने अमेरिकी अधिकारीको भ्रमणसमेत स्थगित गरेका छन् ।


ट्रम्पले मेक्सिकोको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्न करिब ५.७ अर्ब डलर माग गर्दै आएका छन् । तर विपक्षी दल डेमोक्रयाटिकले ट्रम्पको पर्खाल निर्माण योजना अस्वीकार गर्दै बजेट पारित नगर्ने बताउँदै आएको छ । दुवै पक्षको अडानका कारण राष्ट्रपति र विपक्षी पार्टीबीचको विवाद सभामुखको भ्रमण रद्द भएसँगै थप चर्केको हो ।


पर्खाल निर्माणबाहेकको बजेट पारित गर्न विपक्षी डेमोक्रयाटिक पार्टी तयार रहेपनि राष्ट्रपति ट्रम्पले पर्खालसहितको बजेट पारित नभए बजेट नै स्वीकृत नगर्ने अडान राख्दै आएका छन् । उनले राष्ट्रिय सुरक्षाका लागि सीमा क्षेत्रमा पर्खाल निर्माण गर्नुपर्ने बताउँदै आएका छन् ।


ट्रम्पले पर्खाल निर्माण कार्य अमेरिकी जनताको सुरक्षासँग प्रत्यक्ष सरोकारको विषय भएकाले त्यसको विकल्प नभएको बताउँदै आएका छन् । तर, विपक्षी दलले पर्खाल निर्माणले आप्रवासन समस्या सुल्झाउन नसकिने बताउँदै आप्रवासीका कारण अमेरिकी सुरक्षामा खतरा नरहेको जनाएको छ । आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा सीमाक्षेत्रमा पर्खाल बनाउने प्रतिबद्धता जनाएका थिए ।


बजेट स्वीकृत नहुँदा ८ लाख संघीय कर्मचारी तलबविहीन छन् । कतिपय कर्मचारीलाई बेतलबी घरबिदामा पठाइएको छ । बजेट अभावमा संघीय जाँच ब्युरो, एयर ट्राफिक कन्ट्रोलर, होमल्यान्ड सेक्युरिटी, यातायात, कृषि, गृह, न्याय, संग्रहालय, वन तथा राष्ट्रिय निकुञ्ज लगायतका निकायमा कार्यरत कर्मचारी बढी प्रभावित छन् ।


अत्यावश्यक बजेटमा पनि राजनीति गरिएको भन्दै संघीय कार्यालयमा कार्यरत कर्मचारीले विरोधसमेत सुरु गरेका छन् । राष्ट्रपतिबीचको विवाद अब निजी मामिलामा परिणत हुन थालेको छ । राष्ट्रपति ट्रम्पले सभामुख नान्सी पेलोसीलाई सम्बोधन गरी व्यंग्यात्मक शैलीमा लेखेको पत्रमा उल्लेख छ, ‘ब्रसेल्स, इजिप्ट र अफगानिस्तानको तपाईंको पूर्वनिर्धारित भ्रमण स्थगन भएको जानकारी गराउँदा मलाई दु:ख लागेको छ ।’


राष्ट्रपति कार्यालय ह्वाइटहाउसले डाभोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन लागेका अर्थमन्त्री स्टिभन मन्चिन र अन्य पदाधिकारीका भ्रमण पनि रद्द गरिएको जनाएको छ । ह्वाइटहाउसले संघीय कार्यालयहरू बन्द भएकै अवस्थामा प्रशासनसँग सम्बन्धित व्यक्तिका भ्रमण ठीक नभएको भनी विपक्षी डेमोक्रयाटिक दलले आवाज उठाएको समेत स्मरण गराएको छ ।


पेलोसी र उनको प्रतिनिधिमण्डलले अफगानिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । उनीहरूले अमेरिकी एयर फोर्सको विमानबाट यात्रा गर्ने तयारी थियो । उनको कार्यालयले भ्रमण कार्यक्रममा इजिप्ट समावेश नभएको स्पष्ट गरेको छ ।

अमेरिकी कंग्रेसका एक सहयोगीका अनुसार केही सांसद एयर फोर्सको विमानका लागि संसद् भवनबाट निस्कनै लाग्दा राष्ट्रपति ट्रम्पले भ्रमण रद्दको जानकारी गराएका थिए ।


तर, ट्रम्पले सभामुख पेलोसीले गैरसरकारी विमान लिएर विदेश यात्रामा जान सक्ने बताएका छन् । उनले भने, ‘हो, कुनै व्यावसायिक उडानमा निजी खर्चमा यात्रा गर्ने हो ठीकै छ, सरकारी विमानमा यात्रा सम्भव छैन ।’


पेलोसीले जनवरी २९ मा राष्ट्रपति ट्रम्पले हाउस अफ कंग्रेसमा ‘स्टेट अफ द युनियन’ को कार्यक्रम रद्द गर्ने सुझाव दिएसँगै ट्रम्पले सरकारी विमान उपलब्ध गराउन अस्वीकार गरेका हुन् । पेलोसीले ट्रम्पलाई हाउसमा सम्बोधन नगर्न, बरु ह्वाइटहाउसबाटै सम्बोधन गर्न सुझाव दिएकी थिइन् ।


अमेरिकी राष्ट्रपतिहरूले कंग्रेसमा वार्षिक सम्बोधन गर्ने प्रचलन छ । तर पेलोसीले संसदको फ्लोर नदिएपछि राष्ट्रपति ट्रम्प क्रुद्ध भएको बताइएको छ । ट्रम्पको भ्रमण रद्द गर्ने कदमको डेमोक्रयाट सांसदले आलोचना गरेका छन् । पूर्वअमेरिकी सैनिक समेत रहेकी कंग्रेस सदस्य इलेन लुरियाले भनिन्, ‘कंग्रेसको जिम्मेवारी नै निगरानी गर्नु हो, र हाम्रो संवैधानिक कर्तव्यमाथि राष्ट्रपतिले हस्तक्षेप गर्नु विल्कुलै अनुपयुक्त हो ।’


रिपब्लिकन पार्टीका प्रभावशाली सिनेटर लिन्ड्से ग्राहमले सभामुख पेलोसीको अफगानिस्तान, इजिप्ट र नेटोको भ्रमण रोक्नु गलत रहेको दाबी गरे । उनले राष्ट्रपतिलाई कंग्रेसमा सम्बोधन गर्न नदिनु र सभामुखलाई विदेश यात्रामा रोक लगाउनु दुवै दोस्रो दर्जाका काम रहेको बताए ।

प्रकाशित : माघ ५, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?