१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

ब्रेक्जिटले विद्यार्थी घट्ने चिन्ता

लन्डन — बेलायत ईयूबाट बाहिरिने समय नजिकिँदै गर्दा बहिगर्मनले शिक्षामा पार्ने प्रभावबारे चिन्ता सुरु भएको छ । संसारकै उत्कृष्ट विश्वविद्यालय अक्सफोर्ड, क्याम्ब्रिज आदि रहेको बेलायतमा ब्रेक्जिटपछि विद्यार्थी आगमन घट्ने सम्भावनाले बौद्धिक वृत्तमा चिन्ता छाएको छ । 

ब्रिटेनस्थित विश्वविद्यालयका नेताहरूले बेलायत युरोपेली संघबाट बिनासम्झौता (नो डिल) बाहिरिए ईयूबाट पढ्न आउने विद्यार्थीहरूको संख्या अझै घट्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । रसेल ग्रुप भनिने २४ प्रतिष्ठित ब्रिटिस विश्वविद्यालयहरूको एक समूहले यो शैक्षिक सत्रमा पोस्ट ग्रयाजुएट अनुसन्धानमा भर्ना हुने ईयू मुलुकका विद्यार्थीहरूको संख्या ९ प्रतिशतले घटेको जनाएको छ । गत वर्ष पनि त्यस्तो संख्या ९ प्रतिशतले नै घटेको जनाइएको छ ।


द गार्डियन समाचारपत्रँग कुरा गर्दै रसेल ग्रुपका एक वरिष्ठ नीति विश्लेषक डा. होली च्यान्डलरले बिनाकुनै सम्झौता ब्रिटेन ईयूबाट बाहिरिएमा युरोपेली मुलुकहरूबाट उच्च शिक्षाका लागि बेलायत आउने विद्यार्थीहरूको संख्या अझ घट्न सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

ईयूले अहिले बेलायती विश्वविद्यालयमा बर्सेनि झन्डै १.३ बिलियन युरो खर्च गर्दै आएको छ ।


यसअघि ब्रिटेनका १५० वटा विश्वविद्यालयका नेताहरूले ब्रिटिस सांसदहरूलाई एउटा पत्र पठाउँदै बिनाकुनै सम्झौता ब्रिटेन ईयूबाट बाहिरिए त्यसले प्राज्ञिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रमा ठूलो क्षति पुग्ने र त्यसको असर कम गर्न दशकौं लाग्न सक्ने चेतावनी दिएका थिए ।


ब्रिटेनका विश्वविद्यालयहरूले देशको अर्थतन्त्रमा २१ अर्ब पाउन्ड योगदान गर्दछन् र तिनले ९ लाख ४४ हजार जनालाई रोजगारी दिएका छन् ।


रसेल ग्रुपकै लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी ब्रेक्जिटपछि विज्ञान, अनुसन्धान विषयमा ईयूले बेलायती विश्वविद्यालयमा गर्ने खर्चको हिस्सा घटे पनि समाज शास्त्र, कानुनजस्ता विषय पढ्न आउने विद्यार्थीमा भने कमी नहुने बताउँछन् ।


‘बेलायतमा रहेका संसारका उत्कृष्ट विश्वविद्यालय अक्सफोर्ड, क्याम्ब्रिज आदिले विद्यार्थी आकर्षित गर्ने क्षमता राख्छन् भन्ने मलाई विश्वास छ,’ डा. सुवेदीले भने, ‘बेलायतको पढाइ घोकन्ते नभएकाले यसले सोच्ने शक्ति अभिवृद्धि र बौद्धिक बनाउँछ । बेलायती विश्वविद्यालयमा पढेका विद्यार्थीले संसारमा जहाँ गए पनि बौद्धिक नेतृत्व दिन सक्ने भएर उच्च शिक्षामा बेलायतको वर्चस्व कायमै रहनेछ ।’


बेलायती विश्वविद्यालयमा अध्ययनरत नेपालीको संख्या यकिन त छैन । तर नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण करिब ४ हजार नेपाली विद्यार्थी रहेको बताउँछन् । ‘सन् २००९ र १० तिर पढ्नभन्दा काम गर्ने सोचले आउने विद्यार्थी ओइरिएर यहाँ समस्या भए पनि अहिले त्यो अवस्था सुनिएको छैन,’ आरण भन्छन् ।

प्रकाशित : माघ ६, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?