२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सगरमाथाको फोहोर व्यवस्थापनमा कानुन बनाउँदै चीन 

चेतनाथ आचार्य

बेइजिङ — सगरमाथा पर्वतारोहणका लागि चीनले बनाउन लागेको नयाँ कानुनी व्यवस्थाका लागि तिब्बतमा सुझाव सङ्कलन गरेको छ । सुझाव सङ्कलन बैठक स्वायत्त प्रदेश तिब्बतको ल्हासामा हालै सम्पन्न भएको छ । 

सगरमाथाको फोहोर व्यवस्थापनमा कानुन बनाउँदै चीन 

विशेष गरी पर्वतारोहणबाट सगरमाथामा थुप्रिएको फोहोर व्यवस्थापन गर्नका लागि चीनले नयाँ कानुनी व्यवस्था लागू गर्ने उद्देश्य बनाएको र त्यही उद्देश्य अनुसार सुझाव सङ्कलन बैठकको आयोजना गरिएको समाचारमा जनाइएको छ ।


तिब्बत स्वायत्त प्रदेशका खेलकुद ब्युरोका प्रमुख निमाछिरिङले बताए अनुसार, सन् २००६ मा बनेको तिब्बत स्वायत्त प्रदेशको पर्वतारोहण ऐनमा वातावरण संरक्षणसम्बन्धी थप बुँदा राखिनेछ ।


चीनले हरेक वर्षको वसन्त ऋतु लागेपछि सगरमाथा आरोहण खुलाउने गर्दछ । नेपालबाट जस्तो असीमित व्यक्तिले उत्तरी मोहडाबाट (तिब्बततिरबाट) सगरमाथा आरोहण गर्न पाउँदैनन् । हरेक वर्ष चीनले ३ सय व्यक्तिलाई मात्र सगरमाथाको आरोहण गर्ने अनुमति दिने गरेको छ ।


परम्परागत चिनियाँ पात्रो अनुसार नयाँ वर्ष लागेसँगै चीनमा वसन्त ऋतु सुरु भएको मानिन्छ । चिनियाँ नयाँ वर्ष जनवरीको अन्तिम अथवा फेब्रुअरीको दोस्रो साताभित्र पर्ने गर्दछ । यो वर्ष फेब्रुअरी ५ तारिख चिनियाँ नयाँ वर्ष सुरु हुँदैछ ।


सन् २०१९ मा पर्वतारोहण व्यवस्थाको ऐन सुधार गरी पर्वतारोहण कार्यलाई सामान्यीकरण गर्ने, पर्वतारोहण सेवाको मापदण्ड तोक्ने, पर्वतारोहण सेवास्तर उकास्ने र पर्वतारोहण उद्योगलाई उच्चस्तरीय विकास गर्ने उद्देश्यलाई पनि ऐन संशोधनले काम गर्ने निमाछिरिङले बताए ।


सगरमाथा आरोहीहरूको सङ्ख्या थपिँदै गएको र जथाभाबी फोहोर थुप्रिएकाले त्यस्ता फोहोरको व्यवस्थापनका लागि चीनले कानुनी रूपमै व्यवस्था गर्ने भएपछि दक्षिणी मोहडाबाट आरोहण गर्ने आरोहीका लागि पनि त्यस्तै व्यवस्था गर्न नेपाललाई दबाब हुने ठानिएको छ ।


दुई वर्ष अगाडि चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी आधार शिविर नजिकै अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा गरेको थियो । त्यति बेला चीनको तिब्बत स्वायत्त प्रदेशको कङ्खर टाउनशिपमा सन् २०१७ बाट निर्माण सुरु गरेर यही वर्ष अर्थात् सन् २०१९ भित्र निर्माण सम्पन्न गर्ने चीनले घोषणा गरेको थियो ।

सगरमाथाको उत्तरी मोहडादेखि उत्तरतिरको भूभागमा ८४ हजार ३२० वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सो केन्द्रका लागि चीनले दस करोड चिनियाँ युआन अर्थात् एक करोड ४७ लाख अमेरिकी डलर खर्च गरिरहेको छ ।


सो अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्रमा पर्वतारोही, हिउँमा चिप्लेटी खेल्ने खेलाडी, प्याराग्लाइडर र पथप्रदर्शकहरूलाई खानको व्यवस्था लगायत स्वास्थ्य सेवा, ट्राभल्स एजेन्सी र हेलिकप्टर उद्धार केन्द्र निर्माण भइरहेको छ ।

तिब्बतमा उच्च अक्षांशमा परेका तथा हिमाल आरोहणमा फसेका व्यक्तिलाई हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था छैन । यस्तो अवस्थामा चीनको अनुरोधमा नेपालले हेलिकप्टरद्वारा उद्धार गर्दै आएको छ ।


तिब्बत स्वायत्त प्रदेशको खेलकुद ब्युरोका प्रमुख निमा छिरिङका अनुसार केन्द्रभित्र पर्वतारोहण संग्रहालय, कार भाडामा लगाउने व्यावसायिक कक्ष, कार मर्मत स्थल, मोटर साइकल र साइकल भाडामा पाइने स्थल, रेस्टुरेन्ट र सुत्ने लजहरू पनि बन्ने छन् ।


यो पनि पढ्नुहोस्ः

‘सगरमाथा निगरानीमा छैन’

प्रकाशित : माघ ६, २०७५ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?