इरानी फौजमाथि इजरायलको आक्रमण

एजेन्सी

जेरुसेलम — इजरायलले सिरियाको राजधानी दमास्कसस्थित इरानी फौजमाथि आक्रमण गरेको जनाएको छ । इजरायली प्रतिरक्षा फौजले आइतबार राति इरानी रेभुलसनरी गार्डको कुर्दिस फौज र सिरियाली हवाई प्रतिरक्षा फौजमाथि आक्रमण गरेको हो ।

इरानी फौजमाथि इजरायलको आक्रमण

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलले दर्जनौं क्षेप्यास्त्र प्रहार गरेका थियो ।


सिरियाली सैनिकले इजरायलले प्रहार गरेका लगभग सबैजसो क्षेप्यास्त्र निष्क्रिय पारिदिएको दाबी गरेको छ । अनुगमन निकायहरूले इजरायली आक्रमणमा कम्तीमा ११ सरकार समर्थित फौजले ज्यान गुमाएको बताएका छन् ।


इजरायली फौजले सिरियाको अतिक्रमित गोलन हाइट्स क्षेत्रबाट कुर्दिस फौजले आक्रमण गरेपछि जवाफी कारबाही गरेको जनाएको छ । इजरायलको कट्टर दुश्मन इरानले सिरियाली राष्ट्रपति बसर अल असदको समर्थनका लागि हजारौं सैनिक पठाएको छ ।


इजरायली प्रतिरक्षा फौजले विरलै आफूले आक्रमण गरेको स्वीकार गर्नेगर्छ । तर आइतबार कुर्दिस फौजमाथि गरेको आक्रमणबारे उसले ट्वीटरमा उल्लेख गरको छ ।


सोमबार ट्वीटरमार्फत सार्वजनिक विज्ञप्तिमा ‘इजरायली लडाकु विमानले दमास्कस विमानस्थल नजिकैको हतियार भण्डारण केन्द्रलाई लक्षित गरी आक्रमण गरेको’ जनाएको छ । त्यसैगरी ‘सिरियाली हवाई सेनाका अन्य दर्जनौं स्थानमा समेत क्षेप्यास्त्र प्रहार गरेको’ इजरायली फौजले उल्लेख गरेको छ ।


‘इरानलाई आफ्नो भूमिमा प्रवेश गर्न दिएको मूल्य सिरिया तिरिरहेको छ,’ इजरायली प्रतिरक्षा फौजका प्रवक्ता कर्नेल जोनाथन कन्रिकसले भने, ‘इजरायलले आफ्ना जनता र सार्वभौमसत्ताको रक्षाका लागि इरानविरुद्ध जस्तोसुकै कदम चाल्न प्रतिबद्ध छ ।’ अनुगमन निकाय सिरियन अब्जरभेटरी फर हयुमन राइटस्ले ‘इरानी तथा लेबनानी विद्रोही समूह हिजबुल्लाहका विभिन्न हतियार भण्डारणस्थलमा आक्रमण भएको’ जनाएको छ । हिजबुल्लाहलाई इरानले हतियार तथा अन्य आवश्यक सहयोग गर्दै आएको छ । उक्त निकायका अनुसार आक्रमणमा २ सिरियालीसहित ११ लडाकु मारिएका छन् ।


‘हाम्रो हवाई प्रतिरक्षा फौजले इजरायद्वारा प्रहार गरिएका घातक क्षेप्यास्त्र लक्ष्यमा पुग्नुअघि नै निष्क्रिय पारिदिएको छ,’ सिरियाली फौज निकट स्रोत उल्लेख गर्दै बीबीसीले जनाएको छ ।


सिरिया सरकारलाई सहयोग तथा समर्थन गर्दैै आएको रूसले ३० वटाभन्दा बढी क्षेप्यास्त्र र बमहरू निष्क्रय पारेको बताएको छ । यद्यपि, रूसले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचनामा आंशिक क्षति पुगेको स्वीकार गरेको छ ।


इरानी हवाई फौजका प्रमुख जर्नेल अजिज नासिरजदेहले ‘यहुदी शासकलाई पृथ्वीबाट उन्मूलन गर्न आफ्नो देश पूर्णरूपमा तयार तथा अधैर्य रहेको’ चेतावनी दिए ।


इजरायली प्रतिरक्षा फौजले सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएयता हजारांै आक्रमण गरिसकेको छ । तर करिब ३ वर्षदेखि भने उसले हिजबुल्लाह समूह लक्षित आक्रमणमा तीव्रता दिँदै आएको छ ।

प्रकाशित : माघ ८, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?