१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

अमेरिकी संघीय सरकार खुल्यो 

एजेन्सी

वासिङ्टन — अमेरिकी इतिहासकै सबभन्दा लामो सरकारी खर्चबन्दी अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएका छन् । डेमोक्रयाट नेताहरूसँगको छलफलपछि हाउस अफ रेप्रिजेन्टेटिभ्स र सिनेटले सरकारी निकायलाई ३ सातासम्म कोष उपलब्ध गराउने कानुन एकमतले पारित गरेका थिए ।

अमेरिकी संघीय सरकार खुल्यो 

त्यसलगत्तै राष्ट्रपति ट्रम्पले उक्त विधेयकमा हस्ताक्षर गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार दुई दलबीच सीमा सुरक्षाबारे भने वार्ता जारी रहनेछ ।


पाँच साता लामो खर्चबन्दी अन्त्य गर्दै ट्रम्पले संघीय निकायका लागि खर्च उपलब्ध गराउन तयार भएका हुन् । तर उनले माग्दै आएको मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल निर्माणका लागि बजेट भने पाएनन् ।


यसअघि राष्ट्रपति ट्रम्पले तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’ पर्खाल निर्माणका लागि ५ अर्ब ७ करोड डलर बजेट नदिएसम्म सरकारी खर्चबन्दी अन्त्य नगर्ने चेतावनी दिएका थिए । तर डेमोक्रयाटहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै आएका छन् ।


बजेट अभावमा ८ लाख संघीय कर्मचारी ३५ दिनसम्म तलबविहीन भएका थिए भने कतिपयलाई बेतलबी घरबिदामा पठाइएको थियो । बजेट अभावमा संघीय जाँच ब्युरो, एयर ट्राफिक कन्ट्रोलर, होमल्यान्ड सेक्युरिटी, यातायात, कृषि, गृह, न्याय, संग्रहालय, वन तथा राष्ट्रिय निकुञ्ज लगायतका निकाय बढी प्रभावित भएका थिए । अत्यावश्यक बजेटमा पनि राजनीति गरिएको भन्दै संघीय कार्यालयमा कार्यरत कर्मचारीले विरोधसमेत सुरु गरेका थिए । समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति ट्रम्प संघीय सरकार बन्दीका कारण जारी तनाव सुनेपछि खर्च पारित गर्न सहमत भएका हुन् ।


कानुन पारित भएलगत्तै ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले ‘आफू पर्खाल बनाउने अडानबाट नहटेको तर तत्कालका लागि संघीय सरकार बन्दका कारण प्रभावित दसौं लाख मानिसका लागि उक्त निर्णय गरेको’ बताए ।


अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा बोल्दै ट्रम्पले ‘सम्झौताको घोषणा गर्न पाउँदा आफूलाई गर्व लागेको’ बताए । तर उनले अमेरिका र मेक्सिको सीमाक्षेत्रमा भरपर्दो पर्खाल वा स्टिल बार लगाउनुको विकल्प नरहेको दोहोर्‍याए । उनले भने, ‘यदि त्यसका लागि हामीले बजेट पाएनौं भने फेब्रुअरी १५ देखि फेरि सरकार बन्द हुनेछ ।’


पेलोसीको जित

जनमत सर्वेक्षणहरूमा अधिकांश अमेरिकीले खर्चबन्दी लम्बिनुमा ट्रम्प दोषी रहेको उल्लेख गरेको देखिएको थियो । त्यसैले पछिल्लो सहमतिका लागि ट्रम्प तयार भएको आंकलन गरिएको छ । ट्रम्प आफ्नो अडानबाट पछि हटेपछिको परिणामलाई विपक्षी नेता तथा हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीका लागि विजय मानिएको छ ।


ट्रम्पका सामु अडान नछाडेको भन्दै डेमोक्रयाट पार्टीभित्र पेलोसीको निकै प्रशंसा भएको छ । उनी क्यालिफोर्नियाबाट निर्वाचित सदस्य हुन् । ट्रम्पसँग सार्वजनिक रूपमा विवादमा उत्रेपछि राष्ट्रपतिले उनको विदेश भ्रमणसमेत रोकिदिएका थिए । त्यसको बदलामा उनले पनि खर्चबन्दी जारी रहेको बताउँदै राष्ट्रपतिको ‘स्टेट अफ द युनियन’ सम्बोधन पछि सार्न भन्दै स्थान दिइनन् ।


अस्थायी रूपमा खर्च पारित भएपछि यसले संघीय कर्मचारीलाई केही राहत भएको छ । तर फेब्रुअरी १५ भित्र कुनै विस्तृत सम्झौता नभए थप समस्या हुन सक्नेछ किनकि ट्रम्पले त्यसपछि पुन: सरकार बन्द गर्ने चेतावनी दिइसकेका छन् । पर्खाल निर्माणको विकल्पका रूपमा राष्ट्रपतिले यसअघि देशमा राष्ट्रिय संकट घोषणा गर्नेसमेत चेतावनी दिएका थिए ।

प्रकाशित : माघ १३, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?