२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

अमेरिकी २ ठूला अनलाइनद्वारा कर्मचारी कटौती

एएफपी

न्युयोर्क — अमेरिकाका दुई ठूला अनलाइन समाचार साइट बजफिड र हफपोस्टले कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । 

दुवै सञ्चार संस्थाले आर्थिक भार थेग्न नसकेको भन्दै खर्च कटौतीका लागि उक्त निर्णय लिएको बताएका छन् । विज्ञापनमा आश्रित आर्थिक मोडेल खर्च जुटाउन पर्याप्त नरहेको संकेत जनाउने गरी दुवै संस्थाको आर्थिक स्थिति संकटपूर्ण बन्दै गएको छ ।


१४ महिनाभित्रै दोस्रो पटक कर्मचारी कटौती गरेको बजफिडले २ सय कर्मचारी हटाउन आन्तरिक सूचना जारी गरिसकेको छ । यसअघि कम्पनीले एकसय कर्मचारी हटाएको थियो । उक्त समाचार संस्थामा एक हजार ७ सय कर्मचारी कार्यरत थिए ।


हफपोस्टमा पनि सम्पादकीय विभागका करिब १० प्रतिशत पत्रकार कटौती गरेको छ । हफपोस्टले पत्रकार कटौतीबारेमा भने स्पष्ट तथ्यांक उल्लेख गरेको छैन ।


हफपोस्टको संस्थापक कम्पनी भेरिजोन मिडियाले आफ्ना अन्य कम्पनीबाट कर्मचारी हटाउँदै छ । भेरिजोनले हाल एओएल, याहु र भेरिजोन मिडिया सर्भिसेज सञ्चालन गरिरहेको छ ।


‘ठूलो संख्यामा पाठक/श्रोतालाई आफूतिर आकर्षित गर्न तथा विज्ञापनको ठूलो हिस्सा ओगट्ने मनसायले यी सञ्चार संस्था स्थापना गरिएको थियो,’ पोइन्टर इन्स्टिच्युटका मिडिया विश्लेषक रिक एडमन्डले भने, ‘तर, गुगल र फेसबुकले बजारमा अनपेक्षित सफलता प्राप्त गरेपछि सूचनामार्फत ठूलो संख्यामा पाठक, श्रोतालाई आकर्षित गरे ।


सन् २०१८ मा गुगल र फेसबुकले कुल इन्टरनेट विज्ञापनको करिब ५८ प्रतिशत बजार ओगटेका थिए । सन् २०११ मा यी दुईले करिब ४६ प्रतिशत बजार ओगटेका थिए । अर्को ठूलो कम्पनी अमेजनले आफूलाई तेस्रो नम्बरमा उभ्याएको छ ।


‘नि:शुल्क, विज्ञापनमा आधारित मोडेल अपनाउने डिजिटल मिडिया अहिले संकटमा पर्न थालेका छन्,’ नर्थइस्टर्न विश्वविद्यालयका पत्रकारिताका प्राध्यापक ड्यान केनेडीले बताए । उनले बजफिड र हफपोस्ट दुवैको अस्तित्व भने संकटमा परिनसकेको दाबी गरे ।


बजफीडका प्रमुख कार्यकारी अधिकृत एवं सहसंस्थापक जोनाह पेरेटीले आर्थिक संकट उत्पन्न भए अन्य संस्थासँग गाभिनसक्ने बताए । उनले सार्वजनिक रूपमै भाइस, भक्स, रिफाइनरी–२९ र ग्रुप नाइनलाई गाभ्न सकिने बताए । यी सबै इन्टरनेट आधारित सञ्चार माध्यम हुन् । तर डेढ वर्षयता यी कम्पनीले पनि आफ्ना कर्मचारीको संख्या कटौती गरिसकेका छन् । हफपोस्ट सन् २००५ र बजफिड २००६ स्थापित गरिएको हो ।

प्रकाशित : माघ १४, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?