गुआइडोलाई देश छाड्न प्रतिबन्ध

भेनेजुएला संकट
रोयटर्स

काराकास — भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता खुवान गुआइडोलाई देश छाड्न र आफ्नो बैंक खाता सञ्चालन गर्न प्रतिबन्ध लगाएको छ । भनेजुएलाका विपक्षी नेता गुआइडोले गतसाता राजधानी काराकासमा आफूलाई देशको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि भेनेजुएलामा सत्तासंघर्ष सुरु भएको हो ।

गुआइडोलाई देश छाड्न प्रतिबन्ध

उनलाई अमेरिका लगायतका २० भन्दा बढी राष्ट्रले समर्थन जनाएका छन् । रूस, चीन तथा अन्य केही देश भने राष्ट्रपति निकोलस मडुरोको पक्षमा छन् ।


महान्यायाधिवक्ता तारेक विलियम शाबले गुआइडोमाथि प्रतिबन्धको आहान गरेका गर्दै मुद्दा दायर गरेका थिए । मुद्दाको फैसलाका क्रममा सर्वोच्च अदालतले उक्त निर्णय सुनाएको बीबीसीले जनाएको छ ।


शाबले विपक्षी नेता गुआइडोमाथि लगाउनुपर्ने प्रतिबन्ध माग गरेलगत्तै मडुरोको पक्षमा रहेको सर्वोच्च अदालतले त्यसलाई अनुमोदन गरेको हो । ‘विपक्षी नेता गुआइडोले देशमा शान्ति र सुव्यवस्थामा खलल पुर्‍याएकाले पछिल्लो अवस्थाबारे प्रारम्भिक अनुसन्धान पूर्ण नहुन्जेल देश छाड्न नपाउने’ आदलेश दिइएको हो ।


विपक्षी नेता गुआइडोले संसद्मा पत्रकारसँग ‘अदालतको निर्णय नयाँ नभएको’ प्रतिक्रिया दिए । गुआइडोमाथि प्रतिबन्धका समाचार सार्वजनिक भएलगत्तै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका शाब पूर्व महान्याधिवक्त भएको बताउँदै गुआइडोमाथि कुनै पनि हानि गरे गम्भीर परिणाम भोग्न तयार रहन चेतावनी दिए ।


मडुरोले राजनीतिक संकट अन्त्यका लागि विपक्षीहरूसँग वार्ताका लागि तयार भएको जनाइएको छ । ‘भेनेजुएलाको भलाइका लागि राम्रो हुन्छ भने म विपक्षीसँग वार्ताको टेबुलमा बस्न तयार छु,’ मडुरोले भने । तर उनले आफ्नो राष्ट्रपतीय कार्यकाल नसकी देशमा चुनाव नहुने प्रस्ट पारेका छन् ।

गत शनिबार युरोपेली संघले मडुरोलाई राष्ट्रपतीय चुनावको मिति एक साताभित्र नतोके मडुरोलाई समर्थन जनाउने चेतावनी दिएको थियो । विपक्षी दलले बुधबार मडुरोलाई सत्ता त्यागको माग गर्दै राजधानीमा दुई घण्टा लामो शान्तिपूर्ण विरोध गरेको छ ।


दक्षिण तथा उत्तर अमेरिकी देशको समूहले तत्काल कुनै पनि सैन्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । पेरूका विदेशमन्त्री नेस्टर पोपोलिजियोले भेनेजुएलामा जारी संकट शान्तिपूर्ण रूपमा अन्त्य गर्न सन् २०१७ मा बनेको क्यानडासहित १४ देशहरूको समूह लिमाले सैन्य हस्तक्षेपको विरोध गर्ने बताए ।


निर्वाचित राष्ट्रपति मडुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेको २ सातामै प्रतिपक्षी नेताले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुन् ।


विद्यार्थी राजनीतिबाट उदाएका गुआइडोले पूर्वराष्ट्रपति हयुगो चाभेजले मडुरोलाई उत्तराधिकारी बनाउँदा विरोध गरेका थिए । मडुरो सन् २०१३ पहिलो कार्यकालका लागि भेनेजुएलाको राष्ट्रपति निर्वाचित भएका थिए ।


तर उनको कार्यकालमा भेनेजुएलाको अर्थतन्त्र धराशायी भएपछि जनताहरू उनीसँग असन्तृष्ट छन् । राष्ट्रसंघका अनुसार मुद्रास्फीति, ऊर्जा समस्या र खाद्य सामग्रीको अभावका कारण विगत ३ वर्षमा २० लाखभन्दा बढी मानिसले भेनेजुएला छाडिसेका छन् ।


प्रकाशित : माघ १७, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?