१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भेनेजुएला संकट–सुन नकिन्न टर्कीलाई चेतावनी

एजेन्सी

काराकस — भेनेजुएलामाथि आफ्नो प्रतिबन्ध जारी रहेको जनाउँदै उसको सुन नकिन्न अमेरिकाले टर्कीलाई चेतावनी दिएको छ । 

भेनेजुएला संकट–सुन नकिन्न टर्कीलाई चेतावनी

भेनेजुएलाले देशलाई आवश्यक रकम जुटाउन तथा अर्थतन्त्र स्थिर राख्न आफ्ना स्रोतहरूको बिक्री गर्न थालेको समाचार सार्वजनिक भएपछि अमेरिकाले उक्त चेतावनी दिएको हो ।


पश्चिमा देशका एक वरिष्ठ अधिकारीले भेनेजुएलासँग व्यापार गर्ने राष्ट्रका पमा टर्कीमाथि अमेरिकी चासो बढेको जनाएका छन् । अमेरिकी सिनेटर तथा विदेश सम्बन्ध समितिका सदस्य मार्को रुबियोले संयुक्त अरब इमरेट्स र टर्कीलाई भेनेजुएलाको सुन व्यापारमा संलग्न नहुन चेतावनी दिए ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीले भेनेजुएलाको सुन किनिरहेको छ । भेनेजुएलाको सुन टर्की हुँदै इरान पुग्ने गरेको छ, त्यसो भएमा अमेरिकी प्रतिबन्धहरूको उल्लंघन हुन जान्छ । त्यसैले टर्कीमाथि अहिले सुन नकिन्न दबाब बढिरहेको छ ।


टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई समर्थन गरिरहेका छन् । मडुरोले देशभित्र जारी राजनीतिक संकटका कारण चौतर्फी राजनीतिक दबाबमा छन् । अधिकारीहरूले पछिल्ला दिनमा टर्की र भेनेजुएलाबीचको सुन व्यापार निरन्तर बढिरहेको दाबी गरेका छन् ।


गत वर्ष भेनेजुएलाले ९० करोड डलर मूल्यबराबरको सुन प्रशोधन गर्न भन्दै टर्की पुर्‍याएको थियो । तर प्रशोधित सुन फेरि भेनेजुएला फर्काइएको प्रमाण छैन ।


बीबीसीका अनुसार संयुक्त अरब इमरेट्सको राजधानी आबुधाबीस्थित इन्भेस्टमेन्ट कम्पनी नुर क्यापिटलले गतसाता भेनेजुएलाको केन्द्रीय बैंकसँग ३ टन सुन किनेको स्वीकार गरेको छ । तर अमेरिकी चेतावनीपछि जारी एक वक्तव्यमा नुर क्यापिटलले अब भविष्यमा भेनेजुएलासँग थप कारोबार नगर्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।


रोयटर्सका अनुसार गतसाता एक सानो कार्गो विमान भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ टन सुन बोकेर उडेको थियो । बीबीसीका अनुसार रूसी विमानहरू पनि विमानस्थलमा अवतरण गरेको दाबी गरिएपछि रूसले अस्वीकार गरेको छ ।


भेनेजुएलाको सुन खानीबाट अवैध रूपमा सुन निकाल्ने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । भेनेजुएलाका विपक्षी नेता खुवान गुआइडोले देशको सम्पत्तिको सुरक्षा गर्नु अत्यावश्यक भएको बताउने गरेका छन् । उनले राष्ट्रपति मडुरोलाई राजीनामा दिन र तत्काल चुनावको मिति घोषणाका लागि दबाब दिन देशव्यापी आन्दोलन गर्न समर्थकहरूलाई आहान गरेका छन् । यसअघि अमेरिकाले भेनेजुएलाको सरकारी कम्पनीको तेल नकिन्ने बताइसकेको छ ।


भेनेजुएलाका विपक्षी नेता गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेपछि भेनेजुएलामा राजनीतिक संकट सुरु भएको हो । अमेरिकालगायतका २० भन्दा बढी राष्ट्रले गुआइडोलाई समर्थन गर्दै आएका छन् । उनीहरूले राष्ट्रपति मडुरोलाई सत्ताबाट हटाउने प्रयास गर्दै आएका छन् । यद्यपि, रूस तथा चीनलगायतका देश मडुरोको पक्षमा छन् ।


भेनेजुएलामा एक वर्षदेखि जारी सत्तासंघर्ष विपक्षी नेताको घोषणसँगै थप चर्केको हो । त्यसयता राजधानी काराकस लगायतका मुख्य सहरहरूमा निर्वाचित राष्ट्रपति मडुरोको विरोधमा प्रदर्शनहरू गरिँदै आएको छ ।


सन् २०१३ मा पहिलो कार्यकालका लागि राष्ट्रपति भएका मडुरोको शासनकालमा भेनेजुएलामा मुद्रास्फीति र ऊर्जा समस्याका साथै खाद्य सामग्रीको चरम अभावपछि मानिस विरोध उत्रेका हुन् । राष्ट्रसंघका अनुसार विगत ३ वर्षमा २० लाखभन्दा बढी मानिसले भेनेजुएला छाडिसेका छन् ।

प्रकाशित : माघ २०, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?