कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बाढी र आगोको प्रकोपमा अस्ट्रेलिया

बाढीपछि बस्तीमै गोही र सर्प
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका विभिन्न राज्य आगो र बाढीको चपेटामा परेका छन् । विभिन्न राज्यमा आएको प्राकृतिक प्रकोपले हजारौं नागरिकहरू प्रभावित भएका छन् ।अधिकारीहरूका अनुसार करोडौं डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

बाढी र आगोको प्रकोपमा अस्ट्रेलिया

क्विन्सल्यान्ड राज्यमा विगत एक सातादेखि लगातार भइरहेको वर्षापछिको बाढीले दैनिक जनजीवन प्रभावित छ । तास्मानिया राज्यमा करिब २ सातादेखि फैलिएको आगलागीका कारण कैयौं मानिसहरू प्रभावित भएका छन् भने करोडौं डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।


क्विन्सल्यान्डको पर्यटकीय सहर टाउन्सभिलमा लगातार आएको बाढीका कारण हजारौं जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अधिकारीले हालसम्म १ हजार २ सय भन्दा बढीलाई सुरक्षित स्थानमा सारिसकेका छन् । २० हजार घर डुबानको जोखिममा छन् । अधिकारीहरूले करिब १ हजार मानिसले उद्धार तथा सहयोगका लागि आपतकालीन सेवामा फोन गरेको जनाएका छन् ।


हजारौं हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वातावरण मापन केन्द्रका अधिकारीले विगतमा लगभग एक वर्षमा हुने गरेको वर्षा एकैदिनमा भएको जनाएका छन् ।




वर्षापछिको बाढीले टाउन्सभिलका बस्तीमा गोही तथा सर्प पसेपछि स्थानीयमा चेतावनी जारी गरिएको छ । ‘गोहीले सडक पार गरिरहेका देखिएको छ । बाढीको मात्रा घटेसँगै गोहीहरू बाँध तथा पानीको स्रोतमा बस्छन्,’ क्विन्सल्यान्डका वातावरण मन्त्री लियान इनोचले बीबीसीसँग भने ।

उनका अनुसार सर्पहरू राम्रोसँग पौडन सक्ने भए पनि अप्रत्याशित रूपमा बस्तीमा पसेको जनाए । सरकारले सार्वसाधारणलाई सचेत रहन आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ । अविरल वर्षापछि टाउन्सभिलको सबैभन्दा ठूलोमध्येको रोज रिभर ड्यामका सबै ढोका खोलिएको छ । उक्त क्षेत्रमा एकदिनमा एक मिटरभन्दा बढी वर्षा भएको जनाइएको छ ।

त्यसैगरी, तास्मानिया राज्यमा फैलिएको आगलागी नियन्त्रण गर्न हेलिकप्टर सहितका सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि अधिकांश स्थानमा फैलिएको आगलागी नियन्त्रणमा भने आउन सकेको छैन । आगलागीका कारण जोखिम भएको भन्दै कतिपय स्थानबाट सुरक्षाकर्मी त्यसै फर्किन बाध्य भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दर्जनौं घर तथा भौतिक संरचनामा क्षति पुगेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । भिक्टोरिया राज्यमा पनि आगलागीले जनजीवन प्रभावित बनेको छ ।


हरेक वर्ष एकै समयमा हुने बाढी तथा आगालागीका कारण अस्ट्रेलियामा करोडौं डलर बराबरको संरचनामा क्षति पुग्ने गरेको छ । प्रधानमन्त्री स्कट मरिसन र विपक्षी दलका नेता बिल सर्टनले आगलागी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनीहरूले प्रभावित क्षेत्रका जनताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : माघ २१, २०७५ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?