२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

भारतमा स्वाइन फ्लुको प्रकोप फैलियो, दिल्ली र आसपासका राज्य निकै प्रभावित

सन् २०१८ मा स्वाईन फ्लूले मृत्यु हुने २२६ पुगे

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्ली र नजिकैका राज्यहरूमा स्वाइन फ्लुको प्रकोप फैलिएको छ । खासगरी नयाँदिल्ली र नजिकैका राजस्थान, पन्जाब र हरियाणामा यसको प्रकोप बढी देखिएको हो । स्वाईन फ्लू एच–१ एन–१ भाइरसको संक्रमणले हुन्छ । यी क्षेत्रमा दिनहुँ जसो सयौंको संख्यामा स्वाइन फ्लु संक्रमितको थपिँदै गएका छन् ।

भारतमा स्वाइन फ्लुको प्रकोप फैलियो, दिल्ली र आसपासका राज्य निकै प्रभावित

संक्रमणकै कारण हालसम्म २२६ जनाको मृत्यु भइसकेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।


गत वर्षको तुलनामा स्वाइन फ्लुको संक्रमणमा चिन्ताजनक ढंगले बृद्धि भएको हो । राजधानी दिल्लीमा बिहिबार एकै दिनमा १०३ नयाँ स्वाइन फ्लु संक्रमितको पहिचान भएको स्वास्थ्य सेवा निर्देशनालयको कार्यालयले जनाएको छ । योसँगै दिल्लीमा मात्र पछिल्लो डेढ महिनामा १ हजार १ सय ९६ भन्दा बढीमा संक्रमणको पुष्टि भएको छ । संक्रमणकै कारण दिल्लीमा मात्र यसवर्ष १३ जनाको मृत्युसमेत भइसकेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । यद्यपि, सरकारी निकायले भने हालसम्म त्यस्को पुष्टि गरेको छैन ।


दिल्लीसँग जोडिएको राजस्थानमा स्वाइन फ्लुको प्रकोप थप भयावाह छ । राजस्थानमा अहिलेसम्म २ हजार ३ सय ६३ मा यस्तो संक्रमण देखिएको छ । राज्यमा मात्रै स्वाइन फ्लुकै कारण १ सय १७ को मृत्यु भएको सरकारी निकायलाई उद्धृत गर्दै सन्चारमाध्यमले उल्लेख गरेका छन् ।


सन् २०१८ मा भारतभर स्वाइन फ्लु संक्रमणका १४ हजार ९ सय ९२ घटना पुष्टि भएकोमा सन् २०१९ को पहिलो महिनाभित्रै ६ हजार ७ सय १ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको छ । पुसको दोस्रो सातादेखि माघको तेस्रो सातासम्ममा भारतभर ६ हजार ७ सय १ जनामा संक्रमण पुष्टि भएकोमा त्यसको आधाभन्दा बढी अर्थात् ४ हजार १ सय १४ घटना चार राज्यमा देखिएको छ । अघिल्लो वर्ष सोही अवधिमा २ हजार १ सय १ मा मात्र त्यस्तो संक्रमण देखिएको थियो । यसवर्ष सबैभन्दा बढी संक्रमण राजस्थान र दिल्लीमा देखिएको हो । सन् २००९ मा स्वाइन फ्लुले ठूलै महामारीको रुप लिएको थियो ।


राजधानी दिल्लीमा स्वाइन फ्लुको संक्रमण कारण मृत्यु भएकाको संख्या उल्लेख गरिएको छैन । गत महिना सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहमा समेत संक्रमण देखिएको थियो । शाहको स्वास्थ्य परीक्षण रिपोर्टमा स्वाइन फ्लु पुष्टि भएपछि उनलाई नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टियुट अफ मेडिकल साइन्स (एम्स्) को भर्ना गरिएको थियो ।


सामान्यतया: हरेक हिउँद र वर्षामा स्वाइन फ्लु संक्रमण देखा पर्ने गरेको छ । चिकित्सकले संक्रमणका हिसाबले स्वाइन फ्लुलाई सामान्य जोखिम र उच्च जोखिममा वर्गीकरण गर्ने गरेका छन् । बच्चा, गर्भवती महिला, ६५ वर्षमाथिका व्यक्ति, फोक्सो, मुटु, कलेजो र मिर्गौलाका विरामी उच्च जोखिमको वर्गमा पर्छन् । उनीहरुमा भएको संक्रमण समयमा पहिचान नभए मृत्यु हुने गर्छ । सामान्य जोखिमको वर्गमा रहेका विरामीले घरमा आराम गर्ने, भिडभाडमा नजाने र झोलपदार्थ खान चिकित्सकहरुको सुझाव छ ।

प्रकाशित : माघ २६, २०७५ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?