२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बेलायती राजकुमारले त्यागे सवारी चालक अनुमतिपत्र

लन्डन — बेलायती महारानी एलिजाबेथका पति राजकुमार फिलिपले स्वेच्छाले आफ्नो सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) त्यागेको बकिङ्घम राजदरबारले जनाएको छ । ९७ वर्षीय राजकुमार फिलिपले चलाइरहेको ल्यान्ड रोभर जिप हालै दुर्घटनामा परेपछि उनले क्षमायाचना गरेका थिए । उनलाई ड्युक अफ एडिन्बरा पनि भनिन्छ।

बेलायती राजकुमारले त्यागे सवारी चालक अनुमतिपत्र

उक्त दुर्घटनालगत्तै उनले मोटर चलाउँदा चालक पेटी (सिट बेल्ट) नलगाएको फोटो सार्वजनिक भएपछि बेलायतको नोरफोक काउन्सिलका प्रहरीले उनलाई केही सुझाव दिएका थिए तर त्यो सुझाव के थियो भन्ने खुलाइएको छैन । बीबीसीका अनुसार बकिङ्घम दरबारले राजकुमार फिलिपले शनिबार स्वेच्छाले आफ्नो लाइसेन्स बुझाएको जनाएको छ ।


राजकुमारले अधिकारीहरूसमक्ष लाइसेन्स बुझाएको र त्यो सवारी तथा लाइसेन्ससम्बन्धी निकायमा पठाइने पनि प्रहरीले जनाएका छन् । बीबीसीका एक सम्वाददाताले गत महिना भएको दुर्घटनामा राजकुमार फिलिपले आफ्नो गल्ती भएको स्वीकार गरेको जनाएका छन् ।


जनवरी १७ मा भएको दुर्घटनामा राजकुमार फिलिप आफै त घाइते भएनन् तर उनको जिपसँग ठोक्किएको किया मोटरमा सवार एक महिलाको नाडी भाँच्चिएको थियो । कियामा एक नौ महिनाको बालकसहित तीनजना मानिस सवार थिए । राजकुमारले घाइते महिलालाई पत्र लेख्दै 'निकै दु:खदायी घटना' भएको जनाएका थिए । दुर्घटनापछि राजकुमारले आफूलाई सम्पर्क नगरेको भनी घाइते महिलाले उनको आलोचना गरेकी थिइन् ।


ब्रिटेनमा एकपटक सवारी चालक अनुमति पत्र प्राप्त गरेपछि फेरि कानुनी रूपमा गाडी चलाउन नपाउने कुनै उमेर हद छैन । तर सवारी चालकले नियमितरुपमा आफ्नो नेत्र परीक्षण गराउनुपर्छ ।

दुर्घटनापछि प्रहरीले राजकुमार फिलिपको आँखा जाँच गरेका थिए र उनी परीक्षणमा उत्तीर्ण भएका थिए ।

प्रकाशित : माघ २७, २०७५ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?