२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

शरणार्थी फुटबलरलाई फिर्ता गर्न अस्ट्रेलिया सरकारको पहल

नारायण खड्का

अस्ट्रेलिया — आफ्नो देशमा शरणार्थीको रूपमा शरण लिएका बहराईनका फुटबल खेलाडी थाईल्याण्डमा पक्राउ परेपछि उनलाई अस्ट्रेलिया फिर्ता गराउन अस्ट्रेलिया सरकार लागेको छ ।

शरणार्थी फुटबलरलाई फिर्ता गर्न अस्ट्रेलिया सरकारको पहल

बहराईनको राष्ट्रिय फुटबल टोलीका डिफेन्डर हकिम अल अरेबी बहराईनबाट करिब ५ वर्षअघि भागेर अस्ट्रेलियामा शरणार्थी बनेका थिए । समाचारहरूमा जनाइए अनुसार स्थानीय एक प्रहरी कार्यालय तोडफोडमा पक्राउ परेका उनी जमानतमा रिहा भई भागेपछि बहराईन सरकारले रेड कर्नर नोटिस जारी गरेको थियो । करिब २ महिनाअघि बिदा मनाउन थाइल्याण्ड गएको समय उनी एयरपोर्टबाटै पक्राउ परे ।


उनलाई थाइल्याण्डमा पक्राउ गरिएपछि अस्ट्रेलियामा फिर्ता पठाउन अस्ट्रेलिया सरकारले औपचारिक रूपमा माग गरेको छ । उनी अस्ट्रेलियाको शरणार्थी र स्थायी बासिन्दा भएकाले उनलाई अस्ट्रेलिया फिर्ता पठाउनुपर्ने बताएको हो ।


बहराईन सरकारले सुपदर्गीको आग्रह गरेअनुसार उनलाई थाइल्याण्ड सरकारले बहराईन पठाउन लागेको हो । उनलाई बहराईनमा केही वर्षअघि भएको प्रहरी कार्यालय तोडफोड गरेको आरोप लगाइएपनि उक्त समयमा आफू फुटबल प्रतियोगिता खेलिरहेकोले आरोपलाई अस्वीकार गरेका छन् । आफूलाई बहराईनमा चर्को यातना दिएको उनले बताएका छन् ।


अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन, सुरक्षा मन्त्री क्रिस्टोफर पाइनलगायतका उच्च नेताहरूले थाइल्याण्ड सरकारसँग उनलाई अस्ट्रेलिया फिर्ता गर्न माग गरेका छन् । यसै गरी अस्ट्रेलियाको फुटबल एसोसिएसन (एफएफए) र एओसिले समेत उनलाई रिहा गर्न माग गरेका छन् । आफूलाई बहराईन फिर्ता पठाइए आफ्नो सुरक्षा नहुने अरेबीको भनाई छ ।


प्रधानमन्त्री मरिसनले आफूहरूले उनलाई फिर्ता ल्याउनका लागि लगातार पहल गरिरहेको बताएका छन् । उनले थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान ओ चालाई पत्र लेखेरै अरेबीलाई अस्ट्रेलिया फिर्ता गर्न आग्रह गरेको सञ्चार माध्यमहरूले जनाएका छन् । ‘हकिम अल अरेबी अस्ट्रेलियाको शरणार्थी र स्थायी बासिन्दा भएकाले उनलाई हिरासतमा राखिनुले गहिरो चिन्ता सृजना गरेको छ’ अस्ट्रेलियाका सुरक्षा मन्त्री पाईनले भनेका छन् । उनले अस्ट्रेलियाका विदेशी मन्त्री मरिस पेईनले समेत थाइल्याण्ड भ्रमणका समयमा आफ्ना समकक्षीसँग अल अरबीलाई जतिसक्दो मेलबर्न फर्काउन आग्रह गरेकी थिइन् । अस्ट्रेलिया सरकारले उनलाई सहयोग पुर्‍याउन थाइल्याण्डमा रहेका आफ्ना कूटनीतिक अधिकारीहरूलाई परिचालन गरेको छ ।


मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनललगायतका संस्थाहरूले उनको बहराईनमा सुरक्षा नभएको भन्दै अस्ट्रेलिया फर्काउन माग गरेका छन् । अर्कोतिर उनी पक्राउ परेपछि उनको रिहाइका लागि थाईल्याण्डको गुफामा अलपत्र परेका १२ फुटबल खेलाडीहरू बचाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका अस्ट्रेलियाली नागरिकद्धय डा. रिचार्ड ह्यारिस र डा. क्रेग चालनले समेत थाइल्याण्डका प्रधानमन्त्रीसँग आग्रह गरेको समाचारहरूमा जनाइएको छ । यसका साथै उनलाई रिहा गर्नका लागि माग गर्दै अस्ट्रेलियाका पूर्व फुटबल कप्तान क्रेग पोस्टरलगायतका खेलाडीहरू समेत लागि परेका छन् । यद्यपि थाइल्याण्डले भने उनको मुद्दा अदालतमा चलिरहेकाले अहिल्यै केही गर्न नसकिने बताएको सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ ।


अल अरेबी २०१५ देखि अस्ट्रेलियाको भिक्टोरियामा रहेका विभिन्न क्लबहरूबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनी अहिले भिक्टोरियामा रहेको प्रिमियर लिग खेल्ने टिम पास्कोभेलबाट व्यावसायिक फुटबल खेल्छन् । उनी पक्राउ परेपनि उक्त क्लबले सन २०१९ सिजनका लागि अनुबन्धन गरिसकेको जनाएको छ ।

प्रकाशित : माघ २८, २०७५ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?