२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

थाई राजकुमारीद्वारा क्षमायाचना

एएफपी

बैंकक — थाइल्यान्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमायाचना गरेकी छन् । 

थाई राजकुमारीद्वारा क्षमायाचना

६७ वर्षीया उबोलरतनाले शाही परिवारको सदस्य रहेकै बेला ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिनअघि उम्मेदवारीको घोषणा गरेकी थिइन् । त्यसको केही घण्टा पनि नबित्दै उनका भाइ तथा थाइल्यान्डका राजा महावाजिरालोङकोर्नले आपत्ति जनाएका थिए । राजाले राजपरिवारका सदस्य भएको व्यक्ति दलीय र सक्रिय राजनीतिमा संलग्न हुन नमिल्ने धारणा राखेका थिए ।


राजपरिवारका सदस्य राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यताविपरीत हुने राजाको भनाइ थियो ।


राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उनलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी घोषणा गरेको बताइएको छ । सिनावात्रालाई सन् २००६ मा सैनिक कूबाट पदच्युत गरिएको थियो ।


तर सन् २०१४ मा उनकी बहिनी यिङलक सिनावात्राको सत्तामा पुनरागमन भएको थियो । यिङलकलाई पनि भ्रष्टाचार आरोपमा जेल सजाय दिएर सत्ताच्युत गरिएको थियो । उनी अहिले निर्वासनमा छिन् भने देश बाहिरैबाट थाई रक्षा चार्ट पार्टी सञ्चालन गरिरहेकी छन् । थाइल्यान्डमा आउँदो मार्च २४ मा आम निर्वाचन घोषणा गरिएको छ ।


थाई रक्षा चार्ट पार्टी विघटन गरिने

राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको भन्दै थाइल्यान्डको निर्वाचन आयोगले ‘थाई रक्षा चार्ट पार्टी’ विघटनको प्रक्रिया अघि बढाएको छ ।


आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको उक्त पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ । सिनावात्राकै प्रभावमा परेर रक्षा चार्ट पार्टीका तर्फबाट राजकुमारी उबोलरतनाले केही दिनअघि प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।


शाही परिवारका सदस्यलाई सक्रिय राजनीतिमा संलग्न गराउन खोज्नु कानुनविपरीत भएकाले त्यसमा संलग्न उक्त पार्टीलाई विघटन गर्ने प्रक्रिया सुरु गरिएको आयोगका अधिकारीको भनाइ छ ।


आउँदो मार्च २४ मा निर्वाचन हुन लागेकाले त्यो भन्दा अगाडि नै अदालतले यस विषयमा निर्णय गर्नुपर्ने भएको छ ।

अदालतले विघटन गर्ने निर्णय गरेमा यसले सिनावात्रा परिवार र उक्त पार्टीले अझ लामो समय प्रतिबन्ध भोग्नुपर्नेछ भने आसन्न निर्वाचनमा भाग लिन पाउने छैन ।

प्रकाशित : फाल्गुन २, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?