१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फिलिपिन्समा पत्रकार पक्राउ

राष्ट्रपति रोड्रिगो दुतेर्तेका कडा आलोचक पत्रकार मारिया रेस्सा साइबर अपराधको अभियोगमा समातिएकी हुन् ।  
एजेन्सी

मनिला — फिलिपिनो राष्ट्रपति रोड्रिगो दुतेर्तेको कडा आलोचक पत्रकार मारिया रेस्सा पक्राउ परेकी छन् । साइबर अपराधको आरोपमा उनलाई हिरासतमा लिइएको हो ।

फिलिपिन्समा पत्रकार पक्राउ

समाचार वेबसाइट र्‍याप्लरकी प्रमुख कार्यकारी रहेकी उनलाई मनिलास्थित कार्यालयबाटै पक्राउ गरिएको हो । पक्राउपछि रेस्साले साइबर अपराधको अभियोगमा प्रकाशन बन्द गराउन सरकारले प्रयास गरेको बताइन् । साइबर मानहानिबाहेक उनलाई सरकारले कर छलेको लगायत आरोप लगाएको छ ।


रेस्साको गिरफ्तारीलाई र्‍याप्लरका पत्रकारहरूले फेसबुक र ट्वीटरबाट लाइभ गरेका थिए । तर राष्ट्रिय अनुसन्धान विभाग (एनबीआई) का अधिकारीहरूले उक्त दृश्यको भिडियो र तस्बिर खिच्न रोकेका थिए ।


फिलिपिन्स उच्च न्यायालयका पूर्वन्यायाधीशको एक व्यवसायीसँग सम्बन्ध रहेकोबारे र्‍याप्लरमा ७ वर्षअघि रिपोर्ट प्रकाशित भएको थियो । सोही कारण रेस्सालाई सन् २०१२ को सेप्टेम्बरबाट लागू भएको विवादास्पद साइबर अपराध कानुन लगाइएको हो ।


उक्त अभियोगमा रेस्साविरुद्ध सन् २०१७ मा मुद्दा दायर गरिएको थियो । सुरुमा एनबीआईले मानहानिको मुद्दा दिने एक वर्षको समय सकिइसकेको भन्दै प्रक्रिया अघि बढाएको थिएन । तर एनबीआईले २०१८ को मार्चमा उक्त मुद्दाको फाइल पुन: खोलेको हो । सन् २०१२ मा रेस्सासहित ३ पत्रकारले स्थापना गरेको र्‍याप्लर दुतेर्ते शासनविरुद्ध खुला रूपमा आलोचना गर्ने केही मिडियामध्येमा पर्छ ।


यो वेबसाइटले दुतेर्तेले सञ्चालन गरेको लागूऔषधविरुद्धको अभियानको पनि आलोचनात्मक रिपोर्ट प्रकाशित गरेको थियो । उक्त अभियानका क्रममा ३ वर्षमा ५ हजार मानिस मारिएका थिए । राष्ट्रपति दुतेर्तेले भने वेबसाइटले नक्कली समाचार प्रकाशन गरेको आरोप लगाउँदै यसका पत्रकारहरूलाई आफ्ना औपचारिक कार्यक्रमको रिपोर्टिङ गर्न प्रतिबन्ध लगाएका थिए ।


गत वर्ष सरकारले यो साइटको लाइसेन्स रद्द गरेको थियो । नेसनल युनियन अफ जर्नालिस्टले गिरफ्तारीको विरोध गरेको छ । सरकारको आलोचक रहेका अन्य मिडियाहरू फिलिपिन डेली इन्क्विरर र एबीएस–सीएनएन पनि सरकारी निसानामा परेका छन् ।


को हुन् रेस्सा ?

पत्रकार रेस्साले र्‍याप्लर स्थापना गर्नुअघि सीएनएनमा लामो समय काम गरेकी थिइन् । सुरुमा उनी सीएनएनको मनिला ब्युरो प्रमुख भएकामा पछि जकार्ता सरुवा गरिएको थियो ।


उनी दक्षिणपूर्वी एसियामा आतंकवादसम्बन्धी रिपोर्टिङ गरेर पनि चर्चामा आएकी थिइन् । उनलाई अमेरिकी टाइम पत्रिकाले सन् २०१८ को वर्ष व्यक्ति घोषणा गरेको थियो ।

प्रकाशित : फाल्गुन २, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?