फिलिपिनो पत्रकार धरौटीमा रिहा

रोयटर्स

मनिला — साइबर अपराधमा पक्राउ परेकी फिलिपिनो पत्रकार मारिया रेस्सा धरौटीमा रिहा भएकी छन् । उनको पक्राउप्रति अन्तर्राष्ट्रिय समुदायले सरकारको भत्र्सना गरेका थिए । 

फिलिपिनो पत्रकार धरौटीमा रिहा

समाचार वेबसाइट र्‍याप्लरकी प्रमुख कार्यकारी रेस्सा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टोकी कडा आलोचक हुन् । उनलाई साइबर अपराध आरोपमा मनिलास्थित कार्यालयको मुख्यालयबाट बुधबार नेसनल ब्युरो अफ इनभेस्टिगेसनका अधिकारीहरूले पक्राउ गरेका थिए ।


प्रेस स्वतन्त्रताका पक्षधरहरूले आफ्नो आलोचना बन्द गराउन सरकारले रेस्सालाई पक्राउ गरेको जनाएको थियो । उनलाई साइबर अपराधका साथै कर छलीको समेत अरोप लगाइएको छ । सरकारी अभियोग प्रमाणित भए उनलाई १२ वर्षको जेल सजाय हुने व्यवस्था छ ।


समाचार संस्था एपीका अनुसार उनलाई १ लाख पेसो (करिब २ हजार डलर) धरौटीमा रिहा गरिएको हो । उनी छैटौंपटक धरौटीमा रिहा भएकी हुन् ।


‘म र र्‍याप्लरविरुद्ध लगाइएका प्रत्येक आरोप आश्चर्यजनक छन्,’ धरौटीमा रिहा भएलगत्तै रेस्साले सञ्चारकर्मीहरूसँग भनिन्, ‘उनीहरूले राजनीतिक औजार प्रयोग गरिहेका छन् र हामी हाम्रो काम गरिरहेका छौं ।’


को हुन् मारिया रेस्सा ?

मारिया रेस्सा फिलिपिन्सकी वरिष्ठ पत्रकार हुन् । उनलाई सन् २०१८ मा टाइम म्यागेजिनले वर्ष व्यक्तिमा समावेश गरेको थियो । म्यागेजिनले प्रतिकूल वातावरणबीच पत्रकारितामार्फत उल्लेखनीय कार्य गरेको भन्दै वर्ष व्यक्तिमा समावेश गरेको हो ।


सन् २०१२ मा र्‍याप्लर स्थापना गर्नुअघि उनी अमेरिकी टेलिभिजन सीएनएनको क्षेत्रीय ब्युरो प्रमुख थिइन् । र्‍याप्लर विभिन्न अनुसन्धानात्मक समाचार प्रकाशनका कारण फिलिपिन्समा चर्चित छ । फिलिपिन्सका राष्ट्रपतिको आलोचना गर्ने थोरै मध्येका समाचार संस्थामा पर्छ ।


र्‍याप्लरले राष्ट्रपति डुट्रेरटोले सञ्चालन गरेको लागूऔषधविरुद्धको अभियानबारे आलोचनात्मक रिपोर्ट प्रकाशित गरेको थियो । उक्त अभियानको ३ वर्षका क्रममा करिब ५ हजार मानिसहरूको ज्यान गइसेकेको छ ।


पत्रकार मारिया रेस्साविरुद्ध लगाइएको अभियोग ७ वर्षअघिको हो । एक व्यवसायीसँग पूर्वन्यायाधीशको सम्बन्धबारे र्‍याप्लरमा प्रकाशित भएका कारण उनलाई मुद्दा लगाइएको हो । उनलाई सन् २०१२ को सेप्टेम्बरमा लागू गरिएको विवादास्पद साइबर अपराध कानुनअनुसार अभियोग लगाइएको हो ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?