२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

ब्रेक्जिटले बेलायती बैंक प्रभावित

८ सय अर्ब पाउन्ड युरोपेली मुलुकतिर स्थानान्तरण भइसकेको खुलासा
नवीन पोखरेल

लन्डन — बेलायतको युरोपेली संघबाट बहिर्गमन (ब्रेक्जिट) सम्झौताको अनिश्चितता बढ्दै गएपछि बैंक र अरू वित्तीय कम्पनीहरूले युरोपेली बजार ताकेका छन् । बेलायतस्थित एक परामर्शदाता कम्पनीका अनुसार कम्तीमा ८ सय अर्ब पाउन्ड बराबरको सम्पत्ति युरोपेली देशमा सारिसकिएको छ । 

ब्रेक्जिटले बेलायती बैंक प्रभावित

लन्डनस्थित प्रतिष्ठित बहुराष्ट्रिय परामर्शदाता कम्पनी अर्नेस्ट एन्ड योङका अनुसार ब्रेक्जिटको त्रासले धेरै बैंकले युरोपेली देशभित्र कार्यालय स्थापना गरी ईयूको नीति नियम अवलम्बन गर्न जुटिरहेका छन् । अन्य कम्पनीहरूले समेत बजार अस्थिरता तथा नियम कानुनमा हुन सक्ने आकस्मिक परिवर्तनको त्रासले आफ्ना ग्राहकको सम्पत्ति सारिरहेको उक्त कम्पनीले जनाएको छ ।


कम्पनीका अनुसार धेरै बैंकले सम्पत्ति सार्न आकस्मिक योजना बनाइरहेका छन् । बेलायतको बैंकिङ क्षेत्रको करिब १० प्रतिशत सम्पत्ति ईयूमा सर्न सक्ने कम्पनीले जनाएको छ । अर्नेस्ट एन्ड योङले सन् २०१६ को ईयू जनमत संग्रहपछि बेलायतको सबभन्दा ठूला २ सय २२ वटा वित्तीय संस्थाको अध्ययन गरेको थियो ।


अध्ययनमा ब्रेक्जिटका कारण २ हजारभन्दा बढी रोजगारी ईयूभित्र वित्तीय क्षेत्रमा सृजना भएको उल्लेख छ । बेलायत ईयूबाट बिनासहमति बहिर्गमन भए निकै नोक्सान पुग्ने भविष्यवाणी पनि गरिएको छ ।


बेलायत ईयूबाट बाहिरिन २ महिनाभन्दा पनि कम समय बाँकी छ । यस अवधिमा बेलायती संसद्ले ईयूसँग पारपाचुके तथा भविष्यको सम्बन्धबारे कस्तो नीति तय गर्ने भन्नेमा चर्को विमति छ । बेलायती संसद्ले बहुमतले ईयू सम्झौता पारित गर्न नसके मार्च २९ पछि स्वत: बिनासम्झौता (नो डिल) हुन पुग्नेछ जुन बेलायतको अर्थतन्त्रलाई घातक हुने केन्द्रीय बैंक ‘बैंक अफ इंग्ल्यान्ड’ले बताएको छ । सन् २००८ को वित्तीय मन्दीभन्दा पनि खराब हुने प्रक्षेपण बैंक अफ इंग्ल्यान्डको छ ।


डोइचा बैंक, गोल्डम्यान स्याक्स, सिटी जस्ता ठूला बैंकले आफ्ना केही व्यवसाय युरोपियन देशहरूमा सारिसकेका छन् । डब्लिन, लक्जेम्बर्ग, फ्रान्कफर्ट, पेरिस स्थानान्तरणका लागि लोकप्रिय रोजाइ हुन् । युरोपको प्रमुख वित्तीय सहरको रूपमा लन्डन रहँदै आएको छ । लन्डनमा अन्तर्राष्ट्रिय बैंकका धेरै प्रधान कार्यालय छन् । ती वित्तीय संस्थाले बेलायत सरकारलाई वार्षिक ७२ अर्ब पाउन्डभन्दा बढी कर तिर्छन् ।


बेलायतको वित्तीय सेवाले २२ लाख मानिसलाई रोजगारी र कुल गार्हस्थ उत्पादनको १२ दशमलव ५ प्रतिशत योगदान दिने उल्लेख गर्दै अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्य ‘नो डिल’ ब्रेक्जिट भए लन्डनको वित्तीय साख कमजोर बन्ने विश्लेषण गर्छन् । ब्रेक्जिट कारणले बेलायती अर्थतन्त्रले नोक्सान बेहोरिसकेको छ । यसले मुद्रास्फिति बढ्नुका साथै ग्राहकको आत्मविश्वासमा गिरावट आई बेलायतको खुद्रा व्यापारमा असर परिरहेको पनि आचार्यले जनाए ।


ब्रेक्जिट अनिश्चितताका कारण धेरै कम्पनीले व्यावसायिक लगानी निकै कम गर्नुका साथै आफ्ना योजना पनि थाती राखेका छन् । ठूला कम्पनीहरू जस्तै एयरबसले ‘नो डिल’ ब्रेक्जिट सम्झौता भए बेलायत छोड्ने चेतावनी दिइसकेको छ । जर्मनीको इन्जिनियरिङ ग्रुप स्चाइफिएरले आफ्ना दुई कारखाना बन्द गर्ने घोषणा गरिसकेको छ । बेलायतको मोटर म्यानुफ्याक्चरिङ तथा ट्रेडिङ संघले सन् २०१८ मा नयाँ गाडीको दर्ता ६ दशमलव ८ प्रतिशतले घटेको जनाएको छ ।


ईयूसँगको वार्ता योजनाप्रति सांसदहरू असन्तुष्ट

लन्डन (रोयटर्स)– बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट सम्झौताबारे युरोपेली संघ (ईयू)सँग पुन: वार्ता गर्ने योजना बनाएकी छन् । उनको योजनाबारे संसद्मा मतदान हुँदै छ । ईयूसँग पुन: वार्ता गर्ने उनको योजनाप्रति कतिपय सत्तारूढ दलका नेताहरूले नै आपत्ति जनाएका छन् । त्यसकारण पनि उनको योजना संसद्बाट विफल हुने आकलन गरिएको छ ।


प्रधानमन्त्री मेले तोकिएको समयभित्रै बेलायत युरोपेली संघबाट सम्झौताबिना नै अलग हुने तयारी थालेको आरोप लगाउँदै सत्तारूढ दल कन्जरभेटिभ भित्रका ब्रेक्जिट समर्थकहरू रुष्ट भएका हुन् । यद्यपि उक्त आरोप प्रधानमन्त्री मे र उनी निकटस्थहरूले अस्वीकार गरेका छन् ।


यद्यपि संसद्मा हुने मतदानलाई सांकेतिक भएको जनाइएको छ । प्रधानमन्त्री मे निकटस्थहरूले उनको प्रस्ताव असफल भए आइरिस ब्ल्याकस्टपबारे बहिर्गमन सम्झौतामा सांसदहरूलाई मनाउने समय थप प्राप्त हुनेछ ।


केही सत्तारूढ सांसदहरूले गत नोभेम्बर ईयूसँग भएको सम्झौता परिवर्तन गरिए विद्रोह गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले सांसदहरूले युरोपेली संघलाई ‘गलत संकेत’ दिएको भन्दै चेतावनी दिएका छन् । यद्यपि, प्रधानमन्त्री मेले सांसदहरूलाई ब्रेक्जिट प्रक्रिया जारी रहेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेकी छन् ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?