अस्ट्रेलियामा बाढीले ५ लाख चौपाया मरे 

३० करोड डलरबराबरको क्षति
नारायण खड्का

(अस्ट्रेलिया) — अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यमा बाढीका कारण ५ लाखभन्दा बढी चौपाया मरेका छन् भने ३० करोड डलर बराबरको क्षति भएको छ । बाढीका कारण अति प्रभावित नागरिकलाई ७५ हजार डलर बराबरको सहयोग दिने अस्ट्रेलियाली सरकारले घोषणा गरेको छ । 

अस्ट्रेलियामा बाढीले ५ लाख चौपाया मरे 

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाढी प्रभावितलाई सरकारले सक्दो सहयोग पुर्‍याउने बताए । उनले स्थानीय पीडितलाई भेटेर पशु व्यवसायलाई पहिल्यैकै स्थानमा ल्याउने आश्वासन दिए । मरिसनले प्रभावित क्षेत्र राष्ट्रिय संकटमा परेको बताउँदै कृषक तथा पीडितहरुलाई आवश्यक सहयोग पुर्‍याउने आश्वासन दिएका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विगत ७ वर्षदेखि सुख्खा मौसमका कारण प्रभावित क्वीन्सल्यान्डमा हालै भीषण वर्षा भएको हो । वर्षापछिको बाढीका कारण हजारौं स्थानीय विस्थापित भएका थिए, एक युवाले ज्यान गुमाए । ठूलो मात्रामा भौतिक संरचना क्षतिग्रस्त छन् भने जनजीवन निकै प्रभावित छ । क्वीन्सल्यान्डको टाउन्सभिल लगायतका विभिन्न क्षेत्र एकसाताभन्दा लामो समयको पानीले जलमग्न भएका थिए ।

स्थानीय समाचारमाध्यमले बाढीका कारण बगाएर मृत्यु भएका सयौं जनावारका तस्बिर सार्वजनिक गरेका छन् । पशु व्यवसायका लागि परिचित क्वीन्सल्यान्डका किसानहरुले बाढीका कारण भएको क्षति अहिलेसम्मकै ठूलो भएको बताएका छन् । बाढीका कारण घरमा पालिएका चौपाया मात्र नभई जंगली जनावरहरु समेत ठूलो संख्यामा मारिएका बताइएको छ ।

क्वीन्सल्यान्डका जुलिया क्रिक, क्लोनकरी, माउण्ट इशालगायत स्थानका कृषकहरु बढीका कारण अत्यधिक मारमा परेको जनाइएको छ । क्षेत्रका किसानहरुले पालेका आधाबढी पशुहरुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।


यसैबीच, बाढीपश्चात् घर फर्किएका स्थानीयवासीले आफ्नो केही पनि नबचेको गुनासो गरेका छन् । क्वीन्सल्यान्ड राज्य सरकारले पीडितलाई सहयोग पुर्‍याइरहेको जनाएको छ । अस्ट्रेलियाका बैंकमार्फत् समेत पीडितलाई सहयोग पुर्‍याउन सरकारले छलफल गरेको बताएको छ । बाढीपीडित स्थानीय तथा कृषकलाई मानसिक स्वास्थ्य सेवा पुर्‍याउन समेत राज्य तथा केन्द्रीय सरकारले पहल सुरु गरेको जनाइएको छ ।


अस्ट्रेलिया गाईको मासुका लागि प्रख्यात मानिन्छ । तथ्यांकअनुसार अस्ट्रेलियाले सन् २०१७ मा ७ अर्ब ४ करोड डलरको निर्यात गरेको थियो । ९ अर्ब डलर बराबरको मासु देशभित्रै खपत भएको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?