२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सीमा पर्खाल विवाद : अमेरिकामा संकटकाल

कानुनी चुनौती सामना गर्दैै ट्रम्प
रोयटर्स

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्ति प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । संकट वा आपत् आइपर्दा मात्र गरिने संकटकाल घोषणा राजनीतिक अभीष्ट पूरा गरेको भन्दै राष्ट्रपतिको व्यापक आलोचना भएको छ । 

सीमा पर्खाल विवाद : अमेरिकामा संकटकाल

विपक्षी दल डेमोक्रयाटले राष्ट्रपतिको घोषणा ‘शक्तिको दुरुपयोग’ भन्दै अदालतमा चुनौती दिने बताएका छन् । डेमोक्रयाटले राष्ट्रपतिको कदमविरुद्ध उपलब्ध सबै उपचार खोज्ने बताएको छ ।


राष्ट्रपति ट्रम्पले मेक्सिको सीमा क्षेत्रमा पर्खाल निर्माणका लागि संकटकाल लगाएका हुन् । संकटकालको घोषणापछि उनले

सेना वा विपद् व्यवस्थापनका लागि छुट्याइएको बजेट पर्खाल निर्माणमा खर्च गर्न पाउँछन् । सीमामा पर्खाल निर्माण गर्ने राष्ट्रपतिको चुनावी प्रतिबद्धता हो ।


राष्ट्रपतिले संकटकाल घोषणा गरेको केही घण्टाभित्रै ‘पब्लिक सिजिजन’ नामक समूहले प्रकृति संरक्षणका लागि पर्खाल निर्माण अनुपयुक्त भएको दाबी गर्दै मुद्दा दायर गरेका छन् । त्यसैगरी आफ्नो जग्गामा पर्खाल बनाउन लागिएको भन्दै ३ जनाले अदालतमा चुनौती दिइसकेको बीबीसीले जनाएको छ ।


क्यालिफोर्निया र न्युयोर्कले कंग्रेसलाई छलेर संकटकाल घोषणा गर्ने राष्ट्रपतिको कदमविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् । क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमले राष्ट्रपतिको कदम ‘राजनीतिक नाटक’ भएको बताउँदै खारेजको घोषणा गरेका छन् । उनले राष्ट्रपतिविरुद्ध मुद्दा दायर गर्ने जनाउँदै भने, ‘धन्न, डोनाल्ड ट्रम्प अन्तिम शब्द होइन । अदालत अन्तिम शब्द हुनेछ ।’


न्युयोर्क राज्यका डेमोक्रयाट महान्याधिवक्ता लेटिटिया जेम्सले ‘न्युयोर्क राज्य शक्तिको दुरुपयोविरुद्ध लड्ने’ बताइन् । अमेरिकी नागरिक स्वतन्त्रता संघ (एसीएलयू) ले पनि राष्ट्रपतिको कदमविरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेको जनाएको छ ।


यसअघि प्रतिनिधिसभाकी सभामुख तथा वरिष्ठ डेमोक्रयाट नेत्री नान्सी पेलोसी र सिनेटका डोमोक्रयाट नेता चक सुमरले ‘राष्ट्रपतिको कदमले आफूहरू छक्क परेको भन्दै अमेरिकी कंग्रेस र अदालतका चुनौती दिने’ बताएका थिए ।


ट्रम्पले हालैको अमेरिकी खर्चबन्दी दोहोरिन सक्ने सम्भावनालाई रोक्ने मनसायले खर्च विधयेकमा हस्ताक्षर गरेका थिए । तर अमेरिकी संसद् कंग्रेसले विधयेकमा पर्खाल निर्माणको खर्च बेहोर्न नसक्ने बताएपछि संकटकाल लगाएर अन्यत्रबाट पैसा जोहो गर्न भन्दै यस्तो कदम चालेका हुन् ।


ह्वाइटहाउसको रोज गार्डेनबाट देशमा संकटकालको घोषणा गर्दै ट्रम्पलेसीमा पर्खालका लागि ८ अर्ब डलर प्राप्त हुने बताए । उनले उक्त रकम सैन्य निर्माणका काम र लागूऔषध तस्करीसँग जुध्न छुट्टयाइएको बजेट कटौती गरेर लगाइने जनाए । तर करिब ३ हजार २ सय किलोमिटर लामो पर्खाल बनाउन करिब २३ अर्ब डलर आवश्यक पर्ने जनाइएको छ ।


अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐनमा गम्भीर राष्ट्रिय संकट वा विपद्सँग जुध्न राष्ट्रपतिले संकटकालको घोषणा गर्न सक्ने व्यवस्था छ । ट्रम्पले देशको दक्षिणी सीमामा आप्रवासी संकट आइपरेको बताउने गरेका छन् । तर उनको भनाइलाई आप्रवासीसम्बन्धी विज्ञहरूले अस्वीकार गर्दै आएका छन् । वैध प्रवेशाज्ञा वा भिसाको म्याद सकिएपछि पनि अमेरिकामा

नै बसिरहेका अवैध आप्रवासीको संख्या ठूलो छ ।


विगतमा अमेरिकी राष्ट्रपतिहरूले खासगरी विदेश मामिलामा आइपरेका संकटसँग जुध्न राष्ट्रिय संकटकाल घोषणा गर्नेगरेको

अभ्यास छ । उनीहरूले संकटकालमार्फत आतंकवादसँग मुछिएका देशमा लागानी रोक्न वा त्यस्ता संस्थालाई सहयोग रोकेका प्रशस्तै उदाहरण छन् ।


तर ट्रम्पले देशमा विवादास्पद मुद्दामा विपक्षीको बहुमत रहेको संसद् छल्न कार्यकारी शक्ति प्रयोग गरेको देखिन्छ । जसका कारण विपक्षी दलका नेताहरू रुष्ट भएका छन् भने सत्तारूढ दलका राजनीतिज्ञले समेत असहज महसुस गरेका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?