कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेनेजुएला संकट : अमेरिकी विमान राहत लिएर कोलम्बिया 

एएफपी

काराकस — अमेरिकी सेनाका जहाज भेनेजुएलाका लागि सहायता सामग्री बोकेर कोलम्बियाको सीमावर्ती सहर कुकुटा पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाका विपक्षी नेता खुवान गुआइडोको आग्रहमा अमेरिकी सेनाले सहायता सामग्री लगेको हो । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकाले सहायताका नाममा आफ्नो देशमा हस्तक्षेप गर्न चाहेको बताएका छन् । 

भेनेजुएला संकट : अमेरिकी विमान राहत लिएर कोलम्बिया 

विपक्षी नेता गुआइडोका अनुुसार उक्त सहायता सामग्री फेब्रुअरी २३ मा ६ लाख मानिसहरूले भेनेजुएला पुर्‍याउनेछन् । ‘हामी सीमाबाहिर र भित्र परिचालित हुनेछौं,’ गुआइडोले टवीटरमार्फत भने, ‘हामी लक्ष्यमा नपुगेसम्म निरन्तर संघर्ष गरिरहनेछौं ।’


यद्यपि, उक्त सहायता सामग्री भेनेजुएला प्रवेश गर्ने दिइने/नदिइने स्पष्ट छैन । यसअघि अमेरिकी देशहरूले भेनेजुएलाका लागि कोलम्बियाबाट सहायता सामग्री लैजाने तयारी गरेपछि राष्ट्रपति मडुरोको निर्देशनमा दुई देशबीचको प्रमुख राजमार्ग ट्रक तथा कन्टेनर तेस्र्याएर अवरुद्ध पारिएको थियो ।


कुकुटामा आइतबार एक पत्रकार सम्मेलनमा अमेरिकी सहयोग नियोग यूएसएडका प्रशासक मार्क ग्रिनले ‘भेनेजुएलामा जारी मानवीय संकटपछि विपक्षी नेताले सहायताका लागि आग्रह गरेका’ बताए । उनले भने, ‘बालबालिकाहरू भोकै छन्, भेनेजुएलाका सबैजसो अस्पतालमा औषधि अभाव भएको छ ।’ भेनेजुएलामा जारी संकटका कारण ३० लाख मानिसहरूले छिमेकी देशमा शरण लिएको उनले जनाए । गुआइडोका प्रतिनिधिले ब्राजिल तथा क्यारेबियन देशहरूमा थप सहायता सामग्री संकलन भइरहेको बताए ।


चार साताअघि आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुआइडोलाई अमेरिका लगायतका ५० भन्दा बढी देशले समर्थन जनाइसकेका छन् । गुआइडोले आफूले निष्पक्ष निर्वाचन गराउनका लागि सत्ता सञ्चालन गर्न पाउनुपर्ने भन्दै मडुरोलाई राजीनामा दिन आग्रह गर्दै आएका छन् ।


गुआइडोलाई समर्थन गरेका क्यानडा, अस्ट्रेलिया, युरोपेली संघ तथा ल्याटिन अमेरिकी देशहरूको समूह लिमाले पनि उनको माग उपयुक्त भएको बताउने गरेका छन् । लिमा समूहमा अर्जेन्टिना, ब्राजिल, क्यानडा, चिली, कोलम्बिया, कोस्टारिका, ग्वाटेमाला, होन्डुरस, पनामा, पाराग्वे, पेरु, गुयना, मेक्सिको र सेन्ट लुसिया छन् । ती मध्ये गुयना, मेक्सिको र सेन्ट लुसिया भने गुआइडोको पक्षमा छैनन् । ती देशहरूले भेनेजुएलामा शक्तिको प्रयोगबिना सत्ता परिवर्तन हुनुपर्ने तथा आपतकालीन मानवीय सहयोग आपूर्ति गरिनुपर्ने बताउँदै आएका छन् ।


रुस, चीन लगायतका देश भने मडुरोको पक्षमा छन् । ती देशले अमेरिका तथा युरोपेली संघले आन्तरिक मामलामा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउने गरेका छन् ।


राष्ट्रपति मडुरोले भेनेजुएलामा जारी संकटका लागि अमेरिका जिम्मेवार रहेको बताउने गरेका छन् । उनले ‘अमेरिकी सरकार अतिवादीहरूको गिरोह’ भएको भन्दै सहायता सामग्री भेनेजुएला प्रवेश गर्न नदिने बताएका छन् ।


गतवर्ष भएको विवादास्पद चुनावमार्फत राष्ट्रपतिमा निर्वाचित मडुरोले जनवरी १० मा दोस्रो कार्यकालका लागि शपथ लिएपछि भेनेजुएलामा विरोध प्रदर्शन चर्केको हो । मडुरोले चुनावमा धाँधली गरेको विपक्षीको आरोप छ । मडुरोको शासनकालमा भेनेजुएलामा भएको मुद्रास्फिति, खाद्यपदार्थ तथा औषधिको अभावका कारण करिब ३० लाख मानिसले भेनेजुएला छाडिसकेका छन् ।


यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता गुआइडोलाई देश छाड्न र आफ्नो बैंक खाता सञ्चालनमा रोक लगाएपछि अमेरिका उनको बचाउमा उत्रेको थियो । त्यसलगत्तै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले गुआइडोमाथि कुनै पनि हानि गरे अमेरिका चुप नलाग्ने चेतावनी दिएका थिए ।


भेनेजुएला र अमेरिकाबीच वार्ता

भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग दुई पटक वार्ता भइसकेको बताएका छन् । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय वार्ता भएको उनको भनाइ छ ।


‘हामीले दुइटा बैठक गरिसकेको सत्य हो, तर त्यसबारेमा मैले सबै विवरण भने दिन सक्दिनँ, किनकि गोपनीयताको पनि ख्याल गर्नुपर्छ,’ उनले भने । राज्य सञ्चालित टेलिभिजनमा बोल्दै उनले ‘एक–अर्कालाई राम्रोसँग चिन्नेगरी र विषयवस्तुलाई बुझ्ने गरी’ छलफल भयो ।


उनका अनुसार बैठकमा विवादका विषयसँगै आपसी चासोबारे कुराकानी भएको हो । अरेआजाले बैठकबाट सकारात्मक नतिजा आउने विश्वास गरेको बताए । वार्ताबारे राष्ट्रपति मडुरोलाई जानकारी भएको पनि उनले जनाए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?