२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

ब्रेक्जिट सम्झौता : समर्थन जुटाउँदै बेलायती प्रधानमन्त्री

नवीन पोखरेल

(लन्डन) — बेलायती प्रधानमन्त्री टेरेजा मेले आफ्नो दलका सांसदहरूलाई व्यक्तिगत रुचि वा अरुचिलाई परै राखेर ब्रिटेन युरोपेली संघ (ईयू) बाट बाहिरिने सम्बन्धी सम्झौता (ब्रेक्जिट) लाई समर्थन गर्न आग्रह गरेकी छन् ।

ब्रेक्जिट सम्झौता : समर्थन जुटाउँदै बेलायती प्रधानमन्त्री

सत्तारूढ कन्जर्भेटिभ पार्टीका सबै ३ सय १७ सांसदलाई पठाइएको एउटा पत्रमा उनले इतिहासले हाम्रो मूल्यांकन गर्ने उल्लेख गरेकी छन् । बीबीसीका अनुसार प्रमुख विपक्षी दल लेबर तथा आफ्नै पार्टीका कैयौं सांसदहरूले ब्रिटिस संसदको तल्लो सदन हाउस अफ कमन्समा मेले प्रस्तुत गरेको प्रस्तावित सन्धिको मस्यौदालाई अस्वीकार गरिदिएपछि उनले त्यस्तो पत्र पठाएकी हुन् ।


अब आउँदो ६ साताभित्रै मार्च २९ तारिखका दिन ब्रिटेनले ईयू छाड्ने मिति तय गरिएको छ, तर त्यसअघि ब्रिटिश संसदले त्यसलाई सम्झौता पारित गर्नुपर्नेछ ।


यसैबीच, प्रधानमन्त्री मे ब्रेक्जिट सम्बन्धमा ईयू नेताहरूसँग थप छलफल गर्न आउँदो साता ब्रसेल्स जान लागेकी छन् । तर ईयूका नेताहरूले ब्रेक्जिट सम्बन्धमा थप लेनदेन नहुने बताउँदै आएका छन् ।


ब्रिटिश प्रधानमन्त्री मेले संसद्मा प्रस्तुत गरेको प्रस्तावित सम्झौता अनुसार नागरिकका हकहरू, ईयू छाडेबापत बेलायतले युरोपेली संघलाई ३९ अर्ब पाउन्ड तिर्नुपर्ने तथा ब्रेक्जिटपछि आयरल्यान्डसँगको सीमा व्यवस्थापन कसरी गर्ने भन्ने जस्ता विषयमा उनको दलकै कतिपय सांसदहरूको फरक मत रहँदै आएको छ ।


बेलायत छाड्दै जिम

२१ बिलियन पाउन्ड सम्पत्ति भएका बेलायतकै धनी रसायन व्यापारी सर जिम रयाटक्लिफले पनि बेलायत छाड्ने योजना बनाएको समाचार छ । ब्रेक्जिटका कारण कैयौं ठूला व्यापारिक प्रतिष्ठान तथा बैंकहरू युरोप सर्ने तयारी गरेको समाचार आइरहँदा रयाटक्लिफ पनि बेलायत छाड्ने योजनामा रहेको बेलायती अखबार सन्डे टाइम्सले जनाएको छ ।


उक्त पत्रिकाले ४ बिलियन पाउन्ड कर छुटकाराका लागि रयाटक्लिफ सानो युरोपेली देश मोनाको सर्न लागेको दाबी गरेको छ । जिमले गत वर्ष अगस्टमा न्यून कर भएको देश मोनाको सर्ने घोषणा गरेका थिए ।

गत वर्ष मे २०१८ मा बेलायतकै धनीको सूचीमा परेका ६६ वर्षीय व्यापारी रयाटक्लिफले यसअघि ब्रेक्जिटलाई सार्वजनिक रूपमै समर्थन गर्दै आएका थिए । उनले बेलायतीहरू आफ्नो व्यवस्थापन गर्न आफैं सक्षम भएको र उनीहरूलाई ब्रसेल्स आवश्यक नपर्ने प्रतिक्रिया दिएका थिए । ‘मलाई संयुक्त राज्य युरोप परिकल्पनामा विश्वास छैन, न यो साध्य पनि छ,’ उनको प्रतिक्रिया छ ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?