१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कश्मिरमा चार भारतीय सैनिकसहित सातको मृत्यु

रासस/एएफपी

श्रीनगर — भारत अधिनस्थ कश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा चार भारतीय सैनिकसहित सात व्यक्तिको मृत्यु भएको छ । मारिएका व्यक्तिहरुमा चार सैनिक, एक सर्वसाधारण र दुई आतंककारी रहेका थिए । 

कश्मिरमा चार भारतीय सैनिकसहित सातको मृत्यु

कश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो ।


गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेको बताइएको छ । भिडन्तका क्रममा एक सैनिक र अर्का एक सर्वसाधारण घाइते भएका छन् । भारत प्रशासित कश्मिरको प्रमुख शहर श्रीनगरबाट ४० किलोमिटर दक्षिणमा यो गोली हानाहान भएको बताइएको छ ।


पुल्वामामा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात रहेको भारतले दाबी गर्दै आएको छ ।


भारत प्रशासित कश्मिरमा भारतीय सुरक्षा बल लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण घटनाका रुपमा रहेको थियो ।


छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो ।


यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको थियो ।सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि काश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच कश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ ।


मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ ।


गत शुक्रबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंककारी समूह र उनका मालिकले ठूलो गल्ती गरेकाे र यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।


प्रधानमन्त्री मोदी, वित्तमन्त्री अरुण जेट्ली र भारतका अन्य उच्चस्तरीय नेताहरुले यस आक्रमणलाई घृणित कार्यको संज्ञा दिएका छन् ।


पाकिस्तानले भने भारतको दाबी असत्य रहेको जनाएको छ । भारतीय सञ्चारमाध्यम र सरकारले काश्मिर आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य भएको र कुनै किसिमको अनुसन्धान बेगर पाकिस्तानविरुद्ध भारतले आरोप लगाउनु दुःखद भएको पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७५ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?