२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

युरोपेली सांसदलाई देशनिकाला

एएफपी

काराकस — भेनेजुएलाले भ्रमणका क्रममा रहेका ५ युरोपेली सांसदलाई आइतबार देशनिकाला गरेको छ । विपक्षी नेता खुवान गुआइडोले सरकारी कदमलाई ‘अविवेकी निर्णय’ को संज्ञा दिएका छन् ।

युरोपेली सांसदलाई देशनिकाला गर्नुको कारण भने उल्लेख गरिएको छैन । भ्रमण टोलीका नेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले देशनिकाला गर्नुको कारण आफूलाई नबताइएको जनाए ।


उनले भने, ‘हामीलाई भेनेजुएला छाड्न भनिएको छ । पासपोर्ट खोसिएको छ । देश निकालाको कारणबारे केही बताइएको छैन ।’ यद्यपि यस घटनाले राष्ट्रपति निकोलस मडुरो र अन्तर्राष्ट्रिय समुदायबीचको तनाव अझ बढाएको छ ।


भेनेजुएलाका विपक्षी नेता गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । त्यसको केही दिनमा युरोपेली संघले गुआइडोलाई समर्थन गरेपछि मडुरो रुष्ट भएका छन् । गुआइडोलाई समर्थन गर्ने ५० भन्दा बढी राष्ट्रमध्ये ३० युरोपेली छन् ।


गतवर्ष भएको विवादास्पद चुनावमार्फत राष्ट्रपतिमा निर्वाचित मडुरोले जनवरी १० मा दोस्रो कार्यकालका लागि शपथ लिएपछि भेनेजुएलामा विरोध प्रदर्शन चर्केको हो । मडुरोले चुनावमा धाँधली गरेको विपक्षीको आरोप छ । मडुरोको शासनकालमा भेनेजुएलामा भएको मुद्रास्फीति, खाद्यपदार्थ तथा औषधिको अभावका कारण करिब ३० लाख मानिसले भेनेजुएला छाडिसकेका छन् ।


विपक्षी नेताको आग्रहमा अमेरिकाले भेनेजुएलासँग सीमा जोडिएको कोलम्बियाको कुकुटामा खाद्यान्न, औषधि तथा सरसरफाइका सामान ओरालेको छ । तर मडुरोले उक्त सामग्री देशभित्र प्रवेश गराउन नदिने बताएका छन् ।


गुआइडोले उक्त सहायता सामग्री फेब्रुअरी २३ मा ६ लाख मानिसले भेनेजुएला पुर्‍याउने बताएका छन् । यसअघि अमेरिकी देशहरूले भेनेजुएलाका लागि कोलम्बियाबाट सहायता सामग्री लैजाने बताएपछि निर्देशनमा ट्रक तथा कन्टेनर तेर्साएर राजमार्ग अवरुद्ध पारिएको थियो ।


अमेरिकी सिनेटर मार्को रुबियो सहायता कार्यको प्रत्यक्ष अवलोकनका लागि कुकुटा पुगेका छन् । उनले कोलम्बिया र भेनेजुएला जोड्ने सिमोन बोलिभार अन्तर्राष्ट्रिय पुलको निरीक्षण गरेको जनाइएको छ । अमेरिकी सेनाका ३ वटा कार्गो विमानले दर्जनौं टन खाद्य सामग्री कुकुटा पुर्‍याएका हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?