माल्दिभ्सका पूर्वराष्ट्रपति पक्राउ

एएफपी

माले — माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यामिन मंगलबार पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतको आदेशअनुसार नियन्त्रणमा लिइएको अधिकारीले जनाएका छन् । 

माल्दिभ्सका पूर्वराष्ट्रपति पक्राउ

माल्दिभ्सको अदालतले यामिनलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप छानबिनका लागि यामिनलाई पक्राउ गर्न आवश्यक भएको भन्दै अदालतमा मुद्दा परेको थियो । त्यसको प्रारम्भिक सुनुवाइका क्रममा अदालतले यामिनलाई पक्राउ गर्न आदेश दिएको हो । करिब ३ घण्टा लामो सुुनुवाइका क्रममा उक्त आदेश दिएको सरकारी वकिल ऐसाथ मोहमदले जनाए । यामिनले आफूविरुद्धको अभियोगको खण्डन गर्दै आएका छन् ।


यामिनले राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिनुअघि १० लाख ५० हजार डलर सम्पत्ति हिनामिना गरेको अभियोग लगाइएको छ । अदालतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शक्ति र पदको दुरुपयोग गरेर यामिनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अवैध काम गरेको प्रमाण र आधारहरू पेस भएका छन् ।’ उनलाई राजधानी नजिकैको धुनिधु कारागारमा राखिने अधिकारीहरूले जानकारी दिएका छन् ।


माल्दिभ्सका प्रभावशाली नेता यामिन गत सन् २०१३ मा शक्तिमा आएदेखि विपक्षीहरूलाई विभिन्न अभियोगमा पक्राउ गर्ने तथा थुन्ने गरेका थिए । आफ्नो कार्यकालमा चीनसँग राम्रो सम्बन्ध बनाएका यामिनविरुद्ध अन्य अभियोग पनि लगाइएका छन् । तर पूर्वराष्ट्रपति यामिनले भने आफूविरुद्धका सबै आरोपको खण्डन गर्दै आएका छन् ।


चोरी, घूस र आर्थिक अपचलनसम्बन्धी ठूलो अभियोग लगाउँदै केही दिन पहिले उनीविरुद्धमा प्रहरीले प्रहरीले महान्याधिवक्ताको कार्यालयमार्फत मुद्दा दर्ता गरेको थियो । नयाँ राष्ट्रपति इब्राहिम सोलिह नेतृत्वको सरकारले केही साता पहिले एक वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यामिनको कार्यकालमा भएका अनियमितता वा राज्य शक्तिको दुरुपयोगसम्बन्धी कुनै विवरण वा प्रमाण भए उपलब्ध गराउन सार्वजनिक गरेको थियो ।


त्यसलगत्तै प्राप्त अनियमिततासम्बन्धी केही विवरण राष्ट्रपतिको कार्यालयले गत महिनाको सुरुमा सार्वजनिक गरेको थियो । गत सेप्टेम्बर २३ मा भएको निर्वाचनबाट सोलिह राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।


भ्रष्टाचार अभियोग लागेका पूर्वराष्ट्रपति यामिनले भने निर्वाचनमा धाँधली भएको भन्दै सुरुमा मतपरिणाम अस्वीकार गरेका थिए । तर अदालतको फैसलापछि उनले पराजयलाई स्वीकार गर्दै राष्ट्रपति पद त्यागेका थिए । सानो एसियाली मुलुक माल्दिभ्समा पछिल्लो समय प्रतिशोधको राजनीति हाबी भएको देखिएको विश्लेषकहरूले जनाएका छन् ।


प्रकाशित : फाल्गुन ८, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?