२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भारतले कारबाही गरे कडा प्रतिकार

रोयटर्स

इस्लामाबाद/श्रीनगर — पाकिस्तानले भारतद्वारा आफूविरुद्ध सैन्य कारबाही भए त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । गतसाता भारत प्रशासित कश्मीरमा ४६ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको आरोप लगाउँदै कारबाहीको धम्की दिँदै आएको छ ।

भारतले कारबाही गरे कडा प्रतिकार

यद्यपि, पाकिस्तानले आक्रमणमा आफ्नो कुनै हात नरहेको बताउने गरेको छ ।


आक्रमणपछि भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानविरुद्ध कडा कारबाही गर्ने धम्की दिएको थिए । कश्मीरको पुलवामामा आक्रमणको पाकिस्तानी आतंककारी समूह जैस–ए–मोहम्दले जिम्मेवारी लिएको थियो । उक्त समूहलाई अमेरिका, बेलायत, संयुक्त राष्ट्रसंघलगायत पाकिस्तानसमेत आतंककारी घोषित गरिसकेको छ ।


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार भारतलाई कश्मीर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौतीसमेत दिएका छन् । टेलिभिजन सम्बोधनमार्फत खानले ‘भारतले पाकिस्तानलाई बिनाप्रमाण दोष लगाउन छोड्न’ सुझाव दिए । उनले भने, ‘यदि भारतले पाकिस्तानमा कुनै किसिमको आक्रमण गर्नेबारे सोच्दै छ भने पाकिस्तानले सोच्ने मात्र हैन, कडा प्रतिकार गर्नेछ ।’


खानले कश्मीर विवाद वार्तामार्फत समाधान गर्न सकिनेमा आफू विश्वस्त रहेको बताए । भारत प्रशासित कश्मीरमा पृथकतावादी विद्रोहीलाई पाकिस्तानले सघाउँदै आएको नयाँदिल्लीको आरोप छ । उनले हालै पाकिस्तान भ्रमण गरेका साउदी अरबका युवराजको आतिथ्यमा व्यस्त रहेकाले भारतको जवाफ दिन ढिला भएको समेत बताए ।


खानले कश्मीर घटनाको अनुसन्धानमा भारसँग आफू सहकार्य गर्न तयार रहेको समेत जनाएका छन् । खानले पाकिस्तान आर्थिक विकास तथा स्थायित्वका लागि प्रयासरत भइरहेका बेला आक्रमण गरेर के पाउँछ भन्दै भारतीय नेतृत्वसँग प्रश्न गरे ।


यसअघि भारतीय सेनाका लेफ्टिनेन्ट जर्नेल केजेएस ढिलनले ‘कश्मीर आक्रमण जैस–ए–मोहम्दका कमान्डरहरूसँग मिलेर पाकिस्तानको गुप्तचर संस्था आईएसआईले गराएको’ बताएका थिए । उनी कश्मीरस्थित भारतीय सेनाका कमान्डर हुन् । ढिलनले ‘कश्मीरमा सक्रिय पृथकतावादी विद्रोहीलाई तत्काल हतियार नबिसाए मार्ने’ चेतावनी दिएका थिए ।


केही वर्षयता कश्मीरमा लडाकु समूहमा प्रवेश गर्ने युवाको संख्या उल्लेख्य रूपमा बढेको जनाइएको छ । भारतले कश्मीर आक्रमण गराउने युवा स्थानीय भएको उल्लेख गरेका थिए ।

सोमबार कश्मीरको पुलवामामा भारतीय सुरक्षाकर्मी र विद्रोहीबीचको भिडन्तमा ४ सैनिक, २ लडाकु र एक सर्वसाधारणको मृत्यु भएको थियो । भारतले उक्त भिडन्तमा मारिनेमध्ये एक कश्मीर आक्रमणका योजनाकार भएको जनाएको थियो ।


घटनापछि भारत र पाकिस्तानबीच जारी तनाव चर्केको छ । भारतले पाकिस्तानमाथि आर्थिक र तथा कूटनीतिक आक्रमण सुरु गरेको छ । नयाँदिल्लीले पाकिस्तानसँगको भन्सार दर २ सय प्रतिशत वृद्धि गरिसकेको छ । पछिल्लो विवादसँगै दुवै देशले आफ्ना राजदूतलाई समेत फिर्ता बोलाइसकेका छन् ।


सन् १९४७ मा स्वतन्त्रतासँगै विभाजन भएदेखि नै दुवै देशले कश्मीर आफ्नो भएको बताउने गरेका छन् । कश्मीर विवादकै कारण उनीहरूबीच विगतमा २ युद्ध भइसकेका छन् । कश्मीर उपत्यका स्वतन्त्रतासँगै पाकिस्तान र भारतमा विभाजित भएको हो । भारत प्रशासित कश्मीरमा भारतीय सेनाले सन् २०१६ मा लोकप्रिय विद्रोही नेता मारिदिएपछि हिंसात्मक घटनामा बढेका हुन् ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?