२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

आईएसमा भर्ना भएकी बेलायतीको नागरिकता रद्द

एजेन्सी

लन्डन — सिरियामा गएर आतंकवादी संगठन आईएसमा भर्ना भएको भन्दै बेलायतले नागरिकता रद्द गर्ने निर्णय गरेपछि समिमा बेगमले नेदरल्यान्ड (हल्यान्ड) को नागरिकताका लागि प्रयास गर्ने बताएकी छन् । 

बेलायती गृहमन्त्री साजिद जाभिदले मंगलबार समिमाकी आमालाई एक पत्र पठाउँदै सामियाको नागरिकता रद्द गर्न निर्देशन दिइएको जनाएका थिए । यसबारे पुनरावलोकन गर्ने अधिकार परिवारलाई रहेको पनि होम अफिसले जनाएको छ ।


समिमाका वकिल तस्निम अकुन्जीले ट्वीटरमा ‘गृह मन्त्रालयको निर्णयले परिवार निकै निराश भएको’ उल्लेख गरेका छन् । निर्णयलाई कानुनीरूपमा चुनौती दिनेबारे छलफल भइरहेको उनले बताएका छन् । आफ्ना नवजात शिशुको हेरचाहका लागि समिमाले बेलायत फर्कन चाहेको बताइएको थियो ।


‘म केही आश्चर्यचकित भएकी छु, यसले मलाई हतोत्साही बनाएको छ,’ उनले भनिन् । उनले अन्य मानिसलाई बेलायत फर्काइएको भन्दै आफ्ना लागि किन यस्तो गरिएको हो भन्ने बुझ्न नसकेको बताइन् ।


समिमाले आफ्ना पति हल्यान्डको भएकाले त्यहीकै नागरिकताका लागि आग्रह गर्न सकिने विकल्प आफ्नासामु रहेको बताइन् ।


बंगलादेशी मूलकी समिमा सन् २०१५ मा स्कुल पढ्दापढ्दै आफगानी ३ साथीसँग बेलायतबाट भागेर आईएसमा भर्ना हुन सिरिया गएकी थिइन् । त्यही नै उनले आफूभन्दा १२ वर्ष जेठा हल्यान्डका नागरिक यागो रिडजकसँग बिहे गरेकी थिइन् । उनका पतिले हालै सिरियन डेमोक्रेटिक फोर्ससँग आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी बेपत्ता छन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?