१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बंगलादेशमा आगलागी, ७८ को मृत्यु

एजेन्सी

ढाका — बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् ।

बंगलादेशमा आगलागी, ७८ को मृत्यु

अधिकारीहरूले बुधबार राति भएको आगालगीमा थुप्रै घाइते भएको जनाएका छन् । घाइतेमध्ये केही अवस्था गम्भीर छ ।


ढाकाको चवाक बजारको एक घरमा ग्यासको सिलिन्डर विस्फोटपछि आगलागी फैलिएको हो । त्यसलगत्तै ५ तल्ले भवन जलेको थियो । ढाकाको पुरानो बस्ती रहेको क्षेत्रबाट सुरु भएको आगलागी जोडिएका घरहरूका कारण एकपछि अर्कोमा फैलिएको थियो ।


आगलागी नियन्त्रण विभागका अधिकारी महफुज रिवनले सिलिन्डर पड्किएसँगै आगलागी सुरु भएको बताए । त्यसलगत्तै भुइँतलामा रासायनिक पदार्थको गोदाम रहेको सँगैको घरमा आगो सल्केको थियो । आगलागी तीव्र रूपमा फैलिएको थियो ।


चवाक बजारमा शृंगार सामग्रीको व्यापार गर्दै आएका मोहम्मद फिरोजले २५ नातेदार तथा साथीहरू हराइरहेको बताए । उनले विद्युत् टान्समिटर पड्केसँगै सडकमा राखिएको बसमा आगो सल्केको बताए ।


‘हेर्दाहेर्दै आगो फैलियो,’ फिरोजले भने । उनले नजिकैको औषधि पसलमा काम गर्ने आफ्ना दाइको मृत्यु भएको शंका लागेको थियो । उनका दाजुले ग्यास विस्फोटनको आवाज सुन्नेबित्तिकै बम ठानेर पसलको सटर बन्द गरेका थिए ।

अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले राति १० बजपछि आगो लागेको हो । आगो नियन्त्रणमा लिन मध्यरातिसम्म लागेको र जसका कारण ठूलो जनधनको क्षति भएको उनले जनाए । उनका अनुसार ३७ वटा दमकलको प्रयासपछि बिहीबार बिहान ३ मात्रै आगलागी नियन्त्रणमा आएको हो ।


महानिर्देशक खानका अनुसार आगो लाग्नुको कारण थाहा हुन सकेको छैन । खानले भने, ‘केहीले सिलिन्डर विस्फोटपछि आगो लागेको बताएका छन् । तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ ।’


प्लास्टिक र रासायनिक पदार्थका कारण आगो तीव्र रूपमा फैलिएको उनले जनाए । खानका अनुसार साँघुरो बाटो र पानीको अभावका कारण आगालागी नियन्त्रणमा लिन बढी समय लागेको हो । ढाका प्रहरीले उद्धारको कार्य अझै सम्पन्न भई नसकेको जनाएको छ ।


चवाक बजार ढाकाको पुरानोमध्येको सहर हो । ऐतिहासिक महत्त्वको सहर करिब ४ शताब्दी अघि मुगल वंशको शासनताका निर्माण भएको मानिन्छ । चवाक बजार रासायनिक पदार्थको व्यवसायको केन्द्र पनि हो ।


सन् २०१० को आगलागीपछि सरकारले रासायनिक पदार्थको भण्डारणमा प्रतिबन्ध लगाए पनि कतिपय घरमा गैरकानुनी रूपमा रासायनिक पदार्थ राख्ने गरिएको जनाइएको छ । सन् २०१० मा निम्ताली जिल्लामा भएको आगलागीमा १२४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?