१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

भेनेजुएला संकट : राहत रोक्न सीमा बन्द 

एजेन्सी

काराकस — भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले ब्राजिलसँगको सिमाना बन्द गरेको बताएका छन् । देशमा मानवीय सहायता सामग्री बाँड्ने विपक्षीको प्रयास रोक्न मडुरोले सीमा बन्द गरेका हुन् । स्थानीय एक टेलिभिजनमा बोल्दै उनले कोलम्बियासँगको सीमासमेत बन्द गर्नेबारे सोचिरहेको बताए । 

भेनेजुएला संकट : राहत रोक्न सीमा बन्द 

गतसाता अमेरिकी सेनाका कार्गो जहाजले कोलम्बियाली सहर कुकुटामा दर्जनौं टन राहत सामग्री ओरालेका थिए । विपक्षी नेता खुवान गुआइडोले आफ्ना ६ लाख समर्थकहरूले शनिबार सीमाक्षेत्रमा आइपुगेको वैदेशिक राहत सामग्री वितरण गर्ने जनाएका थिए ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विपक्षी नेता गुआइडो स्वयंसेवक र समर्थक बोकेका गाडीका लस्करको नेतृत्व गर्दै काराकसबाट कोलम्बियाली सीमातर्फ लागिसकेका छन् । राहत सामग्री राखिएको कोलम्बियाली सहर कुकुटा काराकसबाट करिब ९ सय किलोमिटर टाढा पर्छ ।


काराकसबाट गाडीमा करिब १३ घण्टा लाग्ने कुकुटा पुग्ने क्रममा थुप्रै प्रहरी चेकपोस्टहरूको सामना गर्नुपर्ने जनाइएको छ । बीबीसीका अनुसार प्रहरीले काराकस नजिकैको राजमार्गमा बाटोअवरुद्ध गर्न खोजेको थियो । सञ्चारमाध्यमलाई गाडीका लस्करको दृश्य खिच्न रोक लगाउने क्रममा प्रहरीसँग सामान्य झडपहरूसमेत भएका जनाइएको छ ।


मडुरोले यसअघि नै आफ्नो उत्तरी तटतर्फको समुद्री र हवाई सीमा बन्द गरिसकेको छ । उत्तरी क्षेत्रको कुरासो टापुले अमेरिकाले दिने राहत भेनेजुएला प्रवेशका लागि सघाउने जनाएपछि मडुरोले सीमा बन्द गरेका हुन् ।


मडुरोले मानवीय सहायता सामग्री वितरणका नाममा अमेरिकाले भेनेजुएलामाथि सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन् । कुकुटामा गतसाता अमेरिकी सेनाका कार्गो विमानले राहत सामग्री ओरालेपछि मडुरोले उक्त आरोप दोहोर्‍याए ।


विपक्षी नेता खुवान गुआइडोले गतमहिना आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेपछि भेनेजुएलामा राजनीतिक संकट सुरु भएको हो । गुआइडोलाई अमेरिका लगायतका ५० भन्दा बढी राष्ट्रले समर्थन गरिसकेका छन् ।


ब्राजिलको सरकार पनि गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिनेमध्ये एक हो । ब्राजिलले चरम संकट भोगिरहेका भेनेजुएली जनतालाई सहायता सामग्री पठाउने बताइसकेको छ ।


संयुक्त राष्ट्रसंघका अनुसार भेनेजुएलामा संकट चुलिएसँगै ३२ लाखभन्दा बढी मानिसले खाद्यान्न र औषधिको खोजीमा देश छाडिसकेका छन् । तर मडुरोले देशमा संकट नभएको दाबी गर्दै आएका छन् ।


एक विवादास्पद निर्वाचनपछि दोस्रो कार्यकाल सुरु गरेका मडुरोविरुद्ध देशव्यापी रूपमा विरोध प्रदर्शन जारी छ । तर मडुरोले सत्ता नछाड्ने बताउँदै आएका छन् । मडुरोको शासनकालमा भेनेजुएलाको आर्थिक अवस्था धरासायी भएको बताइन्छ ।


सन् २०१३ देखि सत्तामा रहेका मडुरोले केही दिनयता साझेदार रूसबाट ३ सय टन सहायता सामग्री भेनेजुएला ल्याउने घोषणा गरेका थिए । भेनेजुएलाका खाद्यमन्त्रीले सरकारले कोलम्बियाको सीमामा झन्डै २० हजार राहतका सामग्री रहेका बाकस बाँड्नेसमेत बताएका छन् । उनले राहत भरिएका भनिएका ट्रकको लस्करको भिडियोसमेत ट्वीटरमा सार्वजनिक गरेका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?