कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो

रासस/एएफपी

गुवाहाटी — थप ३५ भन्दा बढी मजदुरहरुको मृत्यु भएपछि भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ । भारतको असम राज्यमा भएको घटनामा बिरामी भएका दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । मृत्यु भएका र बिरामी सबै असमको चिया बगानमा काम गर्ने मजदूरहरू हुन् । मृत्यु हुनेक्रम गत बिहीबारदेखि सुरु भएको थियो । 

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो

स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्छ । दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो । 'पछिल्लो विवरणअनुसार गोलघाट र जोरहाटमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ', प्रदेश प्रहरीका अतिरिक्त महानिर्देशक मुकेश अग्रवालले आइतबार पत्रकारहरुसँग भने ।


उनले घटनामा दोषी भएको आशङ्कामा दश जनालाई गिरफ्तार गरिएको र पीडितहरुले सेवन गरेको मदिराको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको पनि जानकारी दिए ।


त्यसैगरी मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ । गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा. रतुल बोरदोलोईका अनुसार पीडितहरूमा बान्ता हुने, छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए ।

प्रकाशित : फाल्गुन १२, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?