कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

किम रेल चढेर ट्रम्प भेट्न हिँडे

रोयटर्स

सोल/हनोई — उत्तर कोरियाली नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न प्योङयाङबाट हनोईतर्फ प्रस्थान गरेका छन् । किम र ट्रम्पबीच यही बुधबार र बिहीबार भियतनामको राजधानी हनोईमा दुई दिने शिखर वार्ता हुँदै छ । दुई नेताबीच गत वर्ष सिंगापुरमा पहिलो शिखर वार्ता भएको थियो । 

किम रेल चढेर ट्रम्प भेट्न हिँडे

गत वर्षको सम्मेलनका क्रममा दुई नेताबीच कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने सहमति भएको थियो । तर त्यसबारे कुनै प्रगति हुन नसकेका कारण दोस्रो शिखर बैठकलाई विश्व समुदायले चासोपूर्वक हेरेका छन् ।


किम सीमावर्ती चिनियाँ सहर डानडोङ हुँदै हनोईका लागि प्रस्थान गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किम चढेको रेल आउनुअघि उक्त क्षेत्रका होटल समेत खाली गराइएको थियो ।


चीन र उत्तर कोरियाली सीमामा पर्ने यालु नदीको पुल तरेर चीन प्रवेश गरेको किमको रेल सोमबार साँझ भियतनाममा पुग्ने जनाइएको छ । रेलमा किमकी बहिनी किम यो जोङ र प्रमुख वार्ताकार किम योङ चोलसमेत छन् ।


उत्तर कोरियाली टोली चढेको रेल चीनसँग सीमा जोडिएको भियतनामको डोङडाङ स्टेसनसम्म पुग्नेछ । त्यहाँबाट उक्त टोली कारमा राजधानी हनोई पुग्ने जनाइएको छ । किमको सुरक्षाका लागि डोङडाङ स्टेसन पुग्ने सडकमा गह्रौं सवारीको आवागमनमा रोक लगाइएको छ ।


भ्रमणका क्रममा किमले भियतनामी नेतृत्वसँग सद्भाव भेट हुने जनाइएको छ । आफ्ना हजुरबुबा र बुबाजस्तै किमले पनि रेल यात्रालाई महत्त्व दिने गरेका छन् । किमका हजुरबुबा किम इल–सुङ र बुबा किम जोङ–इल पनि रेलबाट चीन गएका थिए ।


किम जोङ–इल हवाईजहाजमा यात्रा गर्न डराउने भएकाले रेल चढ्ने गर्थे । उनले याक्राका त्रममा रेलमा मनोरञ्जनका लागि केही महिलासमेत राख्ने गर्थे । इलको रेलसँगै गुड्ने अन्य दुई रेलमा सुरक्षाकर्मी र सरसामान राखिन्थ्यो । रेलका प्रत्येक डिब्बा बुलेटप्रुफ भएकाले बढी तौल छ । जसका कारण तीव्र गतिमा गुड्न नसक्ने जनाइएको छ ।


प्रकाशित : फाल्गुन १३, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?