कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिका र दक्षिण कोरियाले रोके सैन्य अभ्यास

एएफपी

सोल — अमेरिका र दक्षिण कोरियाले नियमित रूपमा गर्दै आएका संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् । उत्तर कोरियालाई परमाणु हतियार कार्यक्रम त्याग्न फकाउने उद्देश्यले कूटनीतिक प्रयत्नका लागि संयुक्त सैन्य अभ्यास रोकेको बताइएको छ । 

अमेरिका र दक्षिण कोरियाले रोके सैन्य अभ्यास

दुई देशका रक्षामन्त्रीबीच भएको टेलिफोन वार्तापछि उनीहरू सैनिक अभ्यास रोक्न सहमत भएको बीबीसीले जनाएको छ । दक्षिण कोरियाली रक्षामन्त्री जियोङ क्योङ–डु र उनका अमेरिकी समकक्षी प्याट्रिक सानाहानबीचको टेलिफोन वार्तामा दुवै मुलुकबीच ‘फोल इगल र कि रिजल्भ’ नामक सैन्य अभ्यास नगर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।


ती सैन्य अभ्यास अमेरिकी गठबन्धन मुलुकमा हुने सबैभन्दा ठूला सैन्य अभ्यास हुन् । विगतमा ती अभ्यासमा २ लाख दक्षिण कोरियाली सेना र झन्डै ३० हजार अमेरिकी सेना सहभागी हुने गरेका थिए ।


दुई देशले नियमित रूपमा गर्दै आएका संयुक्त सैन्य अभ्यासका कारण उक्तर कोरिया आत्रोशित हुने गरेको थियो । उसले दुई देशबीचको संयुक्त अभ्यासलाई आफ्नो देशमाथिको हस्तक्षेपका लागि तयारी भएको बताउने गर्छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच गत साता भियतनामको हनोईमा भएको शिखर वार्ता बिनासहमति टुंगिएलगत्तै दुई देशले सैन्य अभ्यास स्थगित गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको मागका कारण आफूले वार्ता त्यागेको बताएका थिए । तर उत्तर कोरियाली विदेशमन्त्रीका अनुसार ‘किमले आफ्नो देशमाथि लगाइँदै आएको प्रतिबन्ध आंशिक रूपमा हटाउन’ माग गरेका थिए । वार्तापछि औपचारिक सम्झौतामा हस्ताक्षर नभए पनि दुवै पक्षले भविष्यमा निरन्तर रूपमा वार्तामा बस्ने बताएका छन् ।


ट्रम्पले गतवर्ष किमलाई भेटेपछि दक्षिण कोरिया र अमेरिकाले कैयौं सैनिक अभ्यास रोकेका थिए । दक्षिण कोरियामा हाल करिब ३० हजार अमेरिकी सैनिक तैनाथ छन् । वार्षिक सैन्य अभ्यासमा दसौं हजार दक्षिण कोरियाली सेना पनि सहभागी हुने प्रचलन छ ।

दक्षिण कोरियामा तैनाथ सेना तत्काल फिर्ता गर्ने कुनै योजना नरहेको बताउँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली सैन्य अभ्यासको खर्चबारे बारम्बार प्रश्न उठाउने गरेका छन् । हनोईमा आयोजित पत्रकार सम्मेलनमा समेत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुँदै आएको सैन्य अभ्यास ‘ज्यादै खर्चिलो’ रहेको बताएका थिए ।


दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियासँगको सैनिक तनाव कम गर्न तथा उक्तर कोरियाको आणविक निःशस्त्रीकरण कार्यत्रमलाई सहज निष्कर्षमा पुर्‍याउनका लागि सकारात्मक वातावरण तयार गर्न सैनिक अभ्यास स्थगित गरिएको जनाएको छ ।

वासिङटन र सोलले सोमबारदेखि सुधारिएको र परिवर्तित सैनिक अभ्यास गर्नेछन् ।


यी अभ्यास आगामी मार्च १२ सम्म चल्ने जनाइएको छ । नौदिने अभ्यासमा प्रतिकार्य नभई आत्मरक्षामा जोड दिइएको छ । अभ्यासमा सहभागी हुने सैनिकको संख्या खुलाइएको छैन । दक्षिण कोरियाली विदेशमन्त्रीले सोलका मुख्य आणविक विशेषदूत ली डो–हुन अमेरिकी प्रतिनिधि स्टेफन बाइगनसँग वार्ता गर्न अमेरिका जान लागेको बताएका छन् । ‘विशेषदूत ली यसै साता अमेरिका जानुहुनेछ,’ मन्त्रालयका प्रवक्ता नोह क्यु–डुकले भने ।

प्रकाशित : फाल्गुन २०, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?