कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मेङले क्यानडालाई मुद्दा हालिन्

एपी

टोरन्टो — चिनियाँ दूसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वाङझाउले अमेरिकाको आग्रहमा आफूलाई पक्राउ गरेको भन्दै क्यानडा सरकारविरुद्ध मुद्दा दायर गरेकी छन् । 

मेङले क्यानडालाई मुद्दा हालिन्

मेङ गत डिसेम्बरमा क्यानडाको भ्यानकुभर विमानस्थलबाट पक्राउ परेकी थिइन् । हुवावे कम्पनीका संस्थापककी छोरीसमेत रहेकी मेङले इरानमाथिको प्रतिबन्ध उल्लंघन गरेको अमेरिकी आरोप छ ।


मेङले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको र अनावश्यक खानतलासी तथा सोधपुछ गरेको भन्दै क्यानडा सरकार, क्यानडेली सीमा निकाय र राष्ट्रिय प्रहरीविरुद्ध मुद्दा दर्ता गरेकी हुन् । वकिलहरूका अनुसार ‘मेङले ब्रिटिस कोलम्बिया अदालतमा आफ्नो मौलिक हक सुरक्षित गरिपाऊँ भन्दै मुद्दा दर्ता गरेकी’ हुन् ।


मेङलाई अमेरिकी सुपुदर्गी गर्नेबारे क्यानडा सरकारले मुद्दा चलाउने निर्णय गरेको भोलिपल्ट उनले सरकारविरुद्ध मुद्दा हालेकी हुन् । यद्यपि, उनलाई अमेरिका सुपुदर्गी गर्नेबारे अदालतको फैसला अन्तिम हुनेछ ।


हुवावेका संस्थापककी छोरी मेङमाथि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लंघन गरेको तथा इरानसँग व्यवसाय सञ्चालन गर्न बैंकहरूलाई गलत विवरण दिएको आरोप छ ।


अमेरिकी अधिकारीले विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता हुवावेविरुद्ध गत जुनमा २ दर्जन मुद्दा दायर गरेका थिए । उनीमाथि बैंकिङ कसुर, न्यायमा अवरोध पुर्‍याएको र प्रविधि चोरेको आरोप लगाइएको छ । हुवावे र मेङ दुवैले आरोपको प्रतिवाद गर्दै आएका छन् । इरानसँग व्यापारिक सम्बन्ध स्थापित गर्ने क्रममा हुवावे डिभाइस यूएसए र स्काइकम टेक नामक दुई सहायक कम्पनीमार्फत हुवावेले आफूलाई धोका दिएको अमेरिकी आरोप छ ।


ट्रम्प प्रशासनले सन् २०१५ को परमाणु सम्झौताअन्तर्गत खारेज गरेको इरानविरुद्धका प्रतिबन्ध पुनः स्थापित गरेको छ । यो मुद्दापछि अमेरिकाले इरानको तेल निर्यात, जहाज र बैंक कारोबारजस्ता क्षेत्रमा अझै कडा प्रतिबन्ध लगाएको छ ।


हुवावेले स्मार्टफोनको आयु जाँच गर्ने टी–मोबाइलको प्रविधि चोरेको अमेरिकाको अर्को आरोप छ । यसले न्यायमा अवरोध गरेको र विद्युतीय कसुर गरेको अमेरिकाको दाबी छ । हाल क्यानडामा रहेकी मेङलाई एक अदालतले देश छाड्न नपाउने सर्तमा जमानतमा रिहा गरेको थियो । चीनले मेङको गिरफ्तारी ‘राजनीतिक प्रतिषोध’ भएको बताउने गर्छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?