भारतमा आम निर्वाचनको मिति आज घोषणा हुँदै

सुरेशराज न्यौपाने

काठमाडौँ — भारतको निर्वाचन आयोगले आइतबार साँझ संघीय संसद लोकसभाको चुनावको मिति घोषणा गर्ने भएको छ । आइतबार साँझ पाँच बजे पत्रकार सम्मेलनमार्फत चुनावको मिति घोषणा गरिने जानकारी दिइएको छ । चालु लोकसभाको पाँच वर्षे कार्यकाल आगामी ३ जुनमा पुरा हुँदैछ ।

भारतमा आम निर्वाचनको मिति आज घोषणा हुँदै

भारतको संविधानले त्यसअघि नै नयाँ लोकसभा गठन भइसक्नुपर्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुरुप नयाँदिल्लीको विज्ञान भवनमा हुने पत्रकार सम्मेलनमा आयोगले १६ औं लोकसभाको मिति घोषणा गर्न लागेको हो ।

भारतीय सन्चारमाध्यमका अनुसार आगामी लोकसभा चुनाव सात देखि आठ चरणमा हुनेछ । ५४३ सदस्यीय (थप दुईजना मनोनित) लोकसभाको चुनाव विभिन्न चरणमा हुँदै आएको छ । पहिलो चरण अप्रिलको पहिलो साताबाट सुरु भएर अन्तिम चरण मेको तेस्रो साता हुने अनुमान छ ।

सन् २०१४ मा चुनावको घोषणा ४ मार्चमै भएको हुँदा यसपटक मिति घोषणा गर्न ढिलाई गरेको भन्दै विपक्षी दलहरुले आयोगको आलोचना गरेका थिए । उनीहरुले निर्वाचन घोषणामा ढिलाई हुनुका पछाडि वर्तमान नरेन्द्र मोदी नेतृत्वको सरकारलाई विकासका नयाँ योजनाहरु घोषणा गर्न र आफ्नो प्रचारप्रसारका लागि पर्याप्त समय दिने नियत रहेको आरोप लगाएका छन् ।

विगत केही दिनयता भारतीय सन्चारमाध्यमहरुमा मोदी सरकारले गरेको विज्ञापनले पनि विपक्षीहरुको उक्त आरोपलाई केही हदसम्म सही ठहर्याउँछ । पछिल्लो समयमा दिल्लीबाट प्रकाशित हुने प्रमुख अखबारहरु मोदी सरकारका नयाँ कार्यक्रम र विगत पाँच वर्षका उपलब्धीहरु समेटिएका विज्ञापन सामग्रीले भरिएका छन् । निर्वाचन घोषणासँगै जारी हुने आचारसंहिताका कारण सरकारले नयाँ योजना तथा कार्यक्रमहरु घोषणा गर्न पाउँदैन ।

आयोगले आजै लोकसभाको चुनावको घोषणासँगै आन्ध्र प्रदेश, उडिसा, सिक्किम र अरुणाचल प्रदेशको विधान सभा चुनावको मिति पनि घोषणा गर्ने अनुमान पनि गरिएको छ ।


प्रकाशित : फाल्गुन २६, २०७५ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?