कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आधा दर्जन मन्त्रीद्वारा राजनीतिबाट सन्यासको घोषणा 

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका आधा दर्जन मन्त्रीहरूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । राष्ट्रिय निर्वाचन नजिकिँदै गर्दा आएको उच्च नेताहरूको यो निर्णयले सत्तारुढ दललाई आगामी निर्वाचन जित्न कठिनाइ हुनसक्ने विश्लेषण गरिएको छ । 

आधा दर्जन मन्त्रीद्वारा राजनीतिबाट सन्यासको घोषणा 

सत्तारुढ दल लिबरलबाट अहिलेसम्म सुरक्षामन्त्री त्रिष्टोफर पाइन, महिलामन्त्री केली ओड्वायर, इण्डिजिनस मन्त्री नाइजल स्कलियन, मानव संसाधन मन्त्री माइकल किनन र सुरक्षा उद्योगमन्त्री स्टिभ सियाबोले आगामी निर्वाचनमा पुनः उम्मेदवार नहुने घोषणा गरिसकेका छन् । उनीहरूले आफ्नो परिवार र समुदायलाई अझ समय दिनका लागि भन्दै राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् ।


राजीनामा दिएका सबै मन्त्रीहरू एक दशकदेखि सत्तारुढ दलबाट बलियो पकड बनाएका राजनीतिकर्मी मानिन्छन् । उनीहरूको यो घोषणाले लामो समयदेखि जित्दै आएको चुनावी क्षेत्रमा पुनः जित हासिल गर्न कठिनाइ हुनेसक्ने अस्टेलियाली सञ्चारमाध्यमहरूले जनाएका छन् ।


यसैगरी लामो समयसम्म लिबरल पार्टीमा राम्रो पकड जमाएकी पूर्व विदेशमन्त्री जुलि बिशपले समेत राजनीतिबाट सन्यास लिएकी छन् । उनले आफूले निर्वाचन लड्दै आएको पर्थको निर्वाचन क्षेत्रबाट पुन: उम्मेदवार नहुने बताएकी छन् । उनी विदेशमन्त्री भएकै समयमा लिबरल पार्टीभित्र प्रधानमन्त्री छान्ने प्रक्रियामा हार ब्योहोरेकी थिइन् । अस्ट्रेलियाको राजनीतिमा राजनीति करियर त्याग्नेमा पुरुषहरूका साथै महिलाहरूको सङ्ख्या समेत उल्लेख्य छ ।


बितेको करिब एक महिनाको अवधिमा आएको यो घोषणाले अस्ट्रेलियाली राजनीतिमा तरंग ल्याइदिएको छ । यहाँका राजनीतिक विश्लेषकहरूले युवा उमेरमै रहेका यी नेताहरूको राजनीतिक सन्यासले नयाँ पुस्ताहरूलाई अवसर दिने बताएका छन् भने केहीले अहिल्यै राजीनामा दिने समय नभएको समेत चर्चा गरेका छन् ।


तर पछिल्लो समयमा राजीनामा दिएका सुरक्षामन्त्री पाईनले भने राजनीतिमा आफ्नो आवश्यता महसुस भइरहेको समयमा छोड्नु नै उपयुक्त हुने प्रतिक्रिया दिएका छन् । उनले राजनीतिमा कसैले छोडेर गए हुन्थ्यो भन्ने समय आउनुअघि नै छोड्नु राम्रो निर्णय भएको बताएका छन् ।


अस्ट्रेलियाका प्रधानमन्त्री तथा सत्तारुढ दल लिबरलका नेता स्कट मरिसनले नेताहरूको राजीनामाले आगामी निर्वाचनमा आफ्नो दलको जितलाई असर नपर्ने प्रतिक्रिया दिएका छन् ।

अस्ट्रेलियाको राजनीतिलाई नजिकबाट बुझेका डा. भरतराज पौडेल लिबरल पार्टीभित्र आफ्नो पक्षमा पार्न शक्तिशाली पुरुष नेताहरूबाट दिइएको दबाब खप्न नसकेर महिला नेतृहरूबाट राजीनामा आएको बताउँछन् ।


यसै गरी पार्टीको जनमत खस्किँदै गएको मौकामा आफ्नो भविष्य सुरक्षित गर्न र पेसागत र सामाजिक क्षेत्रमा काम गर्ने अवसर पाउनका लागि समेत पछिल्लो समयमा प्रभावशाली नेताहरूबाट राजीनामा आएको उनको विश्लेषण छ ।


अस्ट्रेलियाली राजनीतिमा यसअघि पूर्व प्रधानमन्त्रीद्वय जुलिया गिलार्ड, केभिन रडका साथै अन्य नेताहरू जेनी म्याकलिन, निकोला रक्सन, केट एलिस, जुलिया बैंक्स लगायतले पनि राजनीतिबाट सन्यास लिइसकेका छन् । यहाँ राजनीतिबाट सन्यास लिने अधिकांश नेताहरू युवा अवस्थाका छन् ।

प्रकाशित : फाल्गुन २७, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?