३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अमेरिकाले कर्मचारी फर्काउँदै

भेनेजुएला संकट
एजेन्सी

वासिङ्टन — अमेरिकाले भेनेजुएलाको राजधानी काराकसस्थित दूतावासमा कार्यरत आफ्ना सबै कूटनीतिक कर्मचारी स्वदेश फर्काउने भएको छ  । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बढदो संकटपछिको गिर्दो सुरक्षाका कारण कर्मचारी फिर्ता गर्न लागेको बताए  ।

उनले काराकसस्थित सम्पूर्ण अमेरिकी कर्मचारी यसै साता फिर्ता भइसक्ने बताए । यसअघि अमेरिकाले अत्यावश्यक कामबाहेकका कर्मचारीलाई भेनेजुएला छाड्न आदेश दिएको थियो । अमेरिकी विदेश मन्त्रालयले गत जनवरी २४ मा दूतावासका उच्च स्तरीय कर्मचारीका परिवार तथा अन्य आश्रितलाई भेनेजुएला छाड्न निर्देशन दिएको थियो ।


भेनेजुएलामा गतमहिना विपक्षी नेता खुवान गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राजनीतिक संकट गहिरिएको हो । गुआइडोलाई अमेरिकालगायतका ५० भन्दा बढी देशको समर्थन छ । गुआइडोलाई समर्थन गरेपछि राष्ट्रपति निकोलस मडुरो अमेरिकाप्रति क्रुद्ध भएका हुन् । उनले देशमा जारी संकटका लागि अमेरिका मुख्य दोषी रहेको आरोप लगाउँदै आएका छन् । गुआइडोले मडुरोले सत्ता नत्यागेसम्म आन्दोलन जारी रहने बताउने गरेका छन् । रूस, चीनलगायत देशले मडुरोलाई समर्थन जनाउँदै आएका छन् । अमेरिका तथा युरोपेली संघले भेनेजुएलाको आन्तरिक मामलामा अनावश्यक हस्तक्षेप गरेको आरोप ती देशको छ ।


गुआइडोको कदमसँगै देशभर आन्दोलन जारी छ । करिब एक सातादेखि विद्युत् आपूर्ति सुचारु नहुँदा १७ जनाको ज्यान गएको विपक्षीको दाबी छ । देशका सहरी स्थानमा लुटपाट भएको जनाइएको छ । तर राष्ट्रपति मडुरो र उनलाई सत्ताबाट हटाउन प्रयासरत विपक्षीले पछिल्लो समस्याका लागि एक अर्कालाई दोषारोपण गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?