१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ब्रेक्जिट ‘डिल’ संसद्बाट फेरि अस्वीकृत, अनिश्चय अरू बढ्यो

नविन पाेखरेल

लन्डन — बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली सङ्घबाट ब्रिटेन बाहिरिने सम्बन्धमा संसद्मा निर्णयार्थ राखेको प्रस्ताव दोस्रो पटक पनि बहुमत सांसदहरूले अस्वीकार गरी दिएका छन् ।

ब्रेक्जिट ‘डिल’ संसद्बाट फेरि अस्वीकृत, अनिश्चय अरू बढ्यो

यसले गर्दा १७ दिन पछि ब्रिटेन ईयूबाट बाहिरिने छ वा छैन भन्ने बारेको अनिश्चय अरू बढेको छ ।


बेलायती संसद् हाउस अफ कमन्समा मङ्गलवार ३९१ सांसदहरूले प्रस्तावको विपक्षमा मतदान गरे भने २४२ जना सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।


प्रधानमन्त्रीकै दल कन्जरभेटिभका ७५ सांसद र अर्को सत्तारुढ दल डेमोक्रयाटिक युनियनिष्टका १० सांसदले प्रधानमन्त्री मेको विरुद्ध मत हालेका थिए ।


संसद्मा हारपछि प्रधानमन्त्री मेले भनिन्, ‘सदनले आज राती गरेको निर्णयप्रति मलाई खेद छ तर हामीले युरोपेली सङ्घसँग गरेको यो सम्झौता बेलायतको हितमा छ र वास्तवमा यो एक मात्रै बाटो हो भन्नेमा म विश्वस्त छु ।’


गत जनवरी महिनामा पनि प्रधानमन्त्री मेले राखेको प्रस्तावलाई बहुमत सांसदहरूले अस्वीकार गरिदिएका थिए ।


प्रधानमन्त्री मेले अब बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने कि नछाड्ने भन्ने विषयमा संसद्मा मतदान गराइने बताएकी छिन् ।


यदि बुधवार हुने मतदानमा बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने भन्ने प्रस्ताव अस्वीकृत भएमा बिहीबार धारा ५० को म्याद बढाउने प्रस्तावमा मतदान गराइने पनि प्रधानमन्त्रीले बताएकी छन् । उनले यो विषय ब्रिटेनको भविष्यका लागि अत्यन्तै गम्भीर महत्त्वको भएको पनि जनाइन् ।


उनले आफ्नो दलका सांसदहरूलाई बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने कि नछाड्ने भन्ने विषयमा स्वतन्त्र रूपमा मतदान गर्न दिइने पनि बताइन् ।


धारा ५० मा कुनै सदस्य मुलुकले कसरी ईयू छाड्न सक्छन् भन्ने उल्लेख छ ।


यसैबिच ब्रिटेनको मुख्य विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले देशमा आम चुनाव गराउन आव्हान गरेका छन् । उनले भने, ‘आजको मतदानमा पनि सरकार भारी मतले पराजित भएको छ र संसद्को विश्वास गुमाएको छ । त्यसैले ताजा जनादेश लिनुको अब कुनै विकल्प छैन ।’


ब्रेक्जिट सम्बन्धी ईयूका मुख्य वार्ताकार मिसेल बार्नियेले एक ट्विट गर्दै भनेका छन्, ‘ईयूले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको हो । अब यो विषयलाई युकेले मात्रै सुल्झाउन सक्छ ।’


युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कका प्रवक्ताले ‘नो डिल’ को सम्भावना बढेको बताएका छन् । ‘दुवै पक्षबीच गत नोभेम्बरमा भएको सम्झौता संसद्बाट पारित गराउन बेलायत सरकार असफल भएबाट हामी निराश छौँ’, टस्कका प्रवक्ताले भनेका छन्, ‘हामीले हाम्रो तर्फबाट सम्भव भएसम्म प्रयास गर्‍यौँ । तर, मङ्गलवार साँझको मतदान परिणामले बिना सम्झौता बाहिरिने सम्भावना बढेको छ, हामी यसका लागि तयार रहनेछौँ ।’


प्रधानमन्त्री मे अन्तिम समयसम्म पनि ब्रेक्जिट डिल पारित गराउने कसरतमा लागेकी थिइन् । मेले सोमबार फ्रान्सेली सहर स्ट्रासबर्गमा युरोपेली युनियनका वरिष्ठ अधिकारीहरूसँग छलफल गरी कानुनी प्रत्याभूतिका विषयमा महत्त्वपूर्ण सहमति भएको बताएकी थिइन् । ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट ‘कानुनी रूपमा बाध्यकारी प्रत्याभूति’ प्राप्त भएको मेको भनाई थियो ।


पछिल्लो प्रस्तावित सम्झौतामा युरोपेली युनियनको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायती राज्य उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने वा नराख्ने विषय खुला राखिएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?