१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अष्ट्रेलियामा धर्मगुरुलाई ६ वर्ष जेल

कान्तिपुर संवाददाता

अष्ट्रेलिया — क्याथोलिक चर्चको सबैभन्दा ठुलो पदमा पुगेका अष्ट्रेलियाका धर्मगुरु कार्डिनल जर्ज पेललाई दुई बालकमाथि यौन शोषण गरेको आरोपमा ६ बर्षको जेल सजाय सुनाइएको छ । करिब ५ साताको लामो सुनवाईपछि उनलाई बुधबार जेल सजाय सुनाइएको हो ।

अष्ट्रेलियामा धर्मगुरुलाई ६ वर्ष जेल

सन १९९६ मा मेलबर्नको चर्चमा १३ वर्षका दुई बालकलाई यौन शोषण गरेको ठहर गर्दै बुधबार मेलबर्नको भिक्टोरियन कन्ट्री अदालतले उनलाई ६ वर्षको जेल सजाय सुनाएको हो । उनले अनिवार्य रुपमा ३ बर्ष ८ महिना जेल बस्नु पर्नेछ । त्यसपछि मात्र उनी पेरोलका लागि योग्य हुनेछन् । स्थानीय सञ्चारमाध्यहरुका अनुसार काडिनल पेलले सन १९९६ मा मेलबर्नको सेन्ट प्याट्रिक चर्चमा आर्चबिसप रहेको समयमा केथेड्रलमा गाना गाउने दुई बालकमाथि यौन शोषण गरेको आरोप लागेको थियो । अष्ट्रेलियाबाट क्याथोलिक चर्चमा सबैभन्दा उच्च स्थानमा पुगेका उनी आरोप लागेपछि केही महिनाअघि उक्त आरोप बिरुद्ध लड्न रोमबाट मेलबर्न आएका थिए ।


उनले शुरुदेखि नै आफुबिरुद्ध लागेको आरोपको कडा रुपमा खण्डन गर्दै आएका छन् । उनले आफु निर्दोष रहेको भन्दै अदालतको निर्णय बिरुद्ध माथिल्लो वकिलहरुले अदालतमा अपिल समेत गरेको बताइएको छ । उनका बिरुद्धमा परेको मुद्दा सुन्न सयौंको संख्यामा सर्वसाधारणहरु अदालतअघि भेला भएका थिए । उनको मुद्दामा निर्णय गर्दै मुख्य न्यायाधीश जज पिटर किडले उनले गरेको कार्यले पीडितहरुले गरेको विश्वासमाथि अन्याय भएको बताएका थिए । भ्याटिकनका ट्रेजररसमेत रहिसकेका उनलाई भ्याटिकनले ‘सेक्रेटरियट अफ द इकोनोमी’ बाट पदमुक्त गरिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् भने उनीमाथि लागेको आरोपको छानविन गर्न भ्याटिकनले छानविन समिति समेत बनाएको उल्लेख गरिएको छ ।


सन १९६६ देखि पादरीका रुपमा काम गर्न शुरु गरेका उनले युनिभर्सिटी अफ अक्सफोर्डबाट चर्चको इतिहास बिषयमा बिद्याबारिधी गरेका छन् । क्याथोलिक गुरुहरुमध्ये अत्यन्तै सम्मानित र उच्चमध्येको पद मानिने कार्डिनल पदमा रहिसकेका उनको जेल सजायका बारेमा केही समयपहिले अदालतले कुनैपनि सञ्चार माध्यमहरुलाई उनी सम्बन्धि खबर सार्वजनिक गर्न ‘सम्प्रेसन अर्डर’ जारी गरेको थियो । तर केही साताअघि उक्त आदेशलाई हटाएको थियो ।


अष्ट्रेलियामा पछिल्लो समयमा क्याथोलिक चर्चहरुमा बालकहरुमाथि भएको शारीरिक शोषणका बारेमा हजारौं उजुरी परिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारले पीडितहरुको उजुरीपछि यससम्बन्धि छानविन गर्नका लागि रोयल कमिसनको स्थापना गरेको थियो । अष्ट्रेलियाको केन्द्रीय सरकारले पीडितहरुलाई न्याय दिने उद्देश्यले नेशनल रिड्रेस स्किम नै केही महिनाअघि सार्वजनिक गरेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?