जैस–ए–मोहम्मदविरुद्ध राष्ट्रसंघमा प्रस्ताव

अध्ययन आवश्यक : चीन
एएफपी

न्युयोर्क — पाकिस्तानी विद्रोही समूह जैस–ए मोहम्मद प्रमुख मसुद अजहरलाई ‘आतंककारी’ को सूचीमा राख्ने संयुक्त राष्ट्रसंघीय प्रक्रियालाई चीनले पुन: स्थगित गराइदिएको छ ।

जैस–ए–मोहम्मदविरुद्ध राष्ट्रसंघमा प्रस्ताव

भारत प्रशासित कश्मीरको पुलवामामा गत महिना गराइएको विस्फोटको जैस–ए–मोहम्मदले जिम्मेवारी लिएको थियो । आक्रमणमा ४६ भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान गएको थियो ।


संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष अजहरको सम्पत्ति रोक्का गर्ने, यात्रा तथा हातहतियार प्रतिबन्ध लगाउने प्रस्ताव लगिएको थियो । तर चीनले प्रस्तावबारे थप अध्ययन आवश्यक पर्ने भन्दै स्थगित गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको आग्रहमा गरिएको स्थगन नौ महिनासम्म लम्बिन सक्छ । पाकिस्तानको निकट सहयोगी चीनले मसुद अजहरसम्बन्धी प्रस्ताव रोकेको यो चौथो पटक हो । चीनले पाकिस्तानको आग्रहमा प्रस्ताव स्थगन गराएको भारतको बुझाइ छ । भारतीय सरकारले अमेरिका, बेलायत र फ्रान्सद्वारा अघि बढाइएको प्रस्तावलाई समर्थन जनाएका अन्य सदस्य राष्ट्रलाई धन्यवाद दिएको छ ।


एक विज्ञप्तिमार्फत भारतले आफ्ना नागरिकविरुद्धका आक्रमणमा संलग्न आतंककारी नाइकेलाई न्यायको कठघरामा उभ्याउन उपलब्ध सबै उपाय अपनाउने दृढता व्यक्त गरेको छ । प्रस्ताव स्थगन भएलगत्तै भारतीय विपक्षी दल कंग्रेसका अध्यक्ष राहुल गान्धीले नरेन्द्र मोदीलाई ‘कमजोर प्रधानमन्त्री’ को संज्ञा दिएका छन् । उनले मोदी चिनियाँ राष्ट्रपति सीसँग डराएको प्रतिक्रिया दिएका छन् ।


ट्वीटरमा राहुलले लेखेका छन्, ‘जब चीनले भारतविरुद्ध कदम चाल्छ, मोदीको मुखबाट कुनै शब्द निस्कँदैन ।’


राष्ट्रसंघका लागि चिनियाँ कूटनीतिक नियोगले पत्रकारसामु आफूहरूले ‘जिम्मेवारपूर्ण व्यवहार’ को समर्थन गर्न खोजेको तथा ‘सम्बन्धित पक्षसँगको परामर्शमा समस्या समाधान गर्न खोजेको’ जनाएको छ ।


जैस–ए–मोहम्मदको शाब्दिक अर्थ मोहम्मदको सेना हो । सन् १९९९ मा इन्डियन एअरलाइन्सको विमान अपहरण गरी अफगानिस्तानको कान्दाहारमा पुर्‍याइएपछि याक्रुलाई रिहा गर्ने त्रममा भारतले मुक्त गरेका मसुद अजहरले जैस–ए–मोहम्मदको गठन गरेका हुन् ।


मसुद अजहरले त्यसताका अफगानिस्तानमा भूतपूर्व तालिवान नेता मुल्लाह ओमार तथा अल कायदा प्रमुख ओसामा बिन लादेनसँग भेटेका थिए ।


प्रकाशित : चैत्र १, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?