१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बोइङ ७३७ म्याक्स नउडाइने

एजेन्सी

सिकागो — अमेरिकी विमान निर्माण कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स ८ मोडलका सम्पूर्ण विमानमा उडान रोक लगाएको छ । यससँगै उसले निर्माण गरेका ३७१ वटा त्यस्ता विमानले अर्को निर्णय नहुन्जेलसम्म उडान भर्ने छैनन् । 

गत आइतबार बोइङ ७३७ म्याक्स ८ मोडलको एक विमान दुर्घटना भएको इथियोपियाबाट नयाँ प्रमाण भेटिएपछि त्यस्तो निर्णय गरेको अमेरिकी उड्डयन नियामक निकायले जनाएको छ । अधिकारीहरूले ‘नयाँ प्रमाण र भूउपग्रहमार्फत संकलित विवरणका आधारमा यस्तो निर्णय गरिएको’ बताएका छन् । यसअघि अमेरिकी संघीय उड्डयन प्रशासनले ‘उडान रोक्नुपर्ने प्रस्ट आधार फेला नपरेको’ दाबी गरेको थियो । तर बिहीबार उक्त निकायका कार्यवाहक प्रशासक डेनियल इल्वेलले नया तथ्यहरू फेला परेको स्विकारे । उनले भने, ‘दुर्घटना भएको इथियोपियन एअरलाइन्सले लिएको बाटो र उसको व्यवहार लायन एयरको जस्तै थियो भन्नेमा हामी प्रस्ट भएका छौं । पछिल्ला प्रमाणले त्यस्तै देखियो ।’


इन्डोनेसियामा ५ महिनाअघि बोइङ ७३७ म्याक्स ८ मोडेलको लायन एयरको विमान दुर्घटनामा १८९ यात्रुको ज्यान गएको थियो । यसअघि राष्ट्रपति ट्रम्पले दुर्घटनास्थल र अन्यत्रबाट प्राप्त विवरण एवं उजुरीका आधारमा आपत्कालीन आदेश दिन लागेको बताएका थिए ।


ट्रम्पले हाइटहाउसमा पत्रकारसँग कुरा गर्दै विमानबारे ‘नयाँ सूचना’ प्राप्त भएको बताए पनि विस्तृत जानकारी दिएनन् । ‘तत्काल लागू हुने गरी सबै विमानको उडान स्थगन गरिएको छ,’ ट्रम्पले भने । उनले अमेरिकी जनताको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण भएको जनाउँदै अमेरिकी नागरिक उड्डयन प्रशासनले यसबारेमा थप प्रस्ट पार्ने बताए ।


ट्रम्पले क्यानाडेली अधिकारी, अमेरिकी क्यारियर्स र विमान निर्माता बोइङसँग पनि समन्वय गरी बोइङ ७३७ म्याक्सका उडान स्थगनको निर्णय गरेको दाबी गरे । ‘बोइङ अद्वितीय कम्पनी हो,’ ट्रम्पले भने, ‘उनीहरू अहिले ज्यादै मिहिनेतका साथ काम गरिरहेका छन् र चाँडै समस्या सुल्झनेछ ।’


गत वर्षको अन्त्यमा केही अमेरिकी पाइलटले बोइङ ७३७ म्याक्स विमान उडाउने बेलामा नियन्त्रण गर्न समस्या हुने गरेको उजुरी गरेका थिए । तर बोइङले ती मोडेलका विमानको सुरक्षामा आफू सुनिश्चित रहेको बताउँदै आएको थियो ।


यसैबीच, बोइङले बिहीबार एक विज्ञप्ति जारी गर्दै ७३७ म्याक्स ८ मोडेलका विमान पूर्णरूपमा सुरक्षित रहेको दाबी गरेको छ । ‘बोइङ ७३७ म्याक्सको सुरक्षाप्रति आफूहरूलाई पूर्ण आत्मविश्वास छ,’ बोइङका प्रमुख कार्यकारी डेनिस मुलेनबर्गले भनेका छन् ।

प्रकाशित : चैत्र १, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?