न्युजिल्याण्डका दुई मस्जिदमा बन्दुकधारीद्वारा आक्रमण, ४९ जनाको हत्या

नारायण खड्का

अष्ट्रेलिया — न्युजिल्याण्डको क्राईस्टचर्चको दुई मस्जिदमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी ४९ जनाको हत्या गरेका छन् । घटनामा घाइते भएका ४८ जनाको क्राइष्टचर्च अस्पतालमा उपचार भइरहेको र २० जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

न्युजिल्याण्डका दुई मस्जिदमा बन्दुकधारीद्वारा आक्रमण, ४९ जनाको हत्या

घटनामा संलग्न एक अष्ट्रेलियाली नागरिकसहित तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको न्युजिल्याड प्रहरीले जनाएको छ ।


न्युजिल्याण्डको पर्यटकीय शहर मानिने क्राईस्टचर्चमा रहेको दुई छुट्टछुट्टै मस्दिजमा शुक्रबारको नमाज पढिरहेका सयौं मुस्लिम धर्मावलम्बीहरुमाथि जथाभावी गोली प्रहार गरिएको थियो । न्युजिल्याण्डको स्थानीय समय अनुसार १ बजेर ४५ मिनेटमा क्राइष्टचर्चको सिटी सेन्टरमा रहेको अल नुर मस्जिदमा अत्याधुनिक हतियारधारी आक्रमणकारीले जथाभावी गोली प्रहार गरेका थिए ।


उक्त गोली प्रहारमा ४१ जनाले ज्यान गुमाएका थिए । त्यसैगरि नजिकै रहेको लिनउडमा रहेको अर्काे मस्जिदमा करिब १० मिनेटपछि गोली प्रहार गरि ७ जनाको हत्या गरिएको थियो । एक ब्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


घटनामा संलग्न एक महिलासहित चारजनालाई न्युजिल्याण्ड प्रहरीले पक्राउ गरेको छ । प्रहरीद्वारा पक्राउ परेका एक अष्ट्रेलियाका नागरिक समेत रहेको प्रहरीले बताएको छ । आक्रमणकारीले आक्रमणको सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेका थिए । बन्दुकधारी सेनाले लगाउने जस्तो पोशाक लगाएर मस्जिदमा छिरेको र जथाभावी गोली चलाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । बन्दुकधारीले अत्याधुनिक तथा अटोमेटिक हतियार प्रयोग गरेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणको जानकारी पाएपछि प्रहरीले आसपासका विद्यालय, पसल तथा स्थानीय क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । यसैगरि विष्फोटक पदार्थ राखिएका कारहरुलाई प्रहरीको विशेष टोलीले निष्त्रिmय पारेको थियो । न्युजिल्याण्डको एक टेलिभिजनलाई घटनाका प्रत्यक्षदर्शीहरुले ६ मिनेटभन्दा लामो समयसम्म बन्दुकधारीले अत्याधुनिक हतियारद्वारा जथाभावी गोली चलाएको बताए ।


उनले मस्जिदमा सबै प्रार्थना गरिरहेको शून्य समयमा बन्दुकधारी पसेर अन्धाधुन्ध गोली प्रहार गरेको सुनाए । घटनामा परेका सर्वसाधारणहरुले बन्दुकधारीबाट ज्यान बचाउन मस्जिदको पछिल्लो ढोका तथा झ्याल फुटाएर भागेका थिए भने कोही शौचालमा लुकेको सञ्चारमाध्यमहरुलाई बताएका छन् ।


उक्त मस्जिदमा न्युजिल्याण्डसँग टेस्ट खेल खेल्न आएका बंगलादेशका राष्ट्रिय टोलीका सदस्यहरु समेत नमाज पढ्न आएका थिए तर उनीहरु सबै सुरक्षित रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनापछि न्युजिल्याण्ड र बंगलादेशबीच शनिबार हुने भनिएको टेस्ट क्रिकेट समेत स्थगित गरिएको छ । घटनापछि न्युजिल्याण्डले आतंकवादी सुरक्षाको प्रक्रियालाई न्यूनबाट उच्च सर्तकतामा बृद्धि गरेको छ । यसैगरी क्राईष्टचर्चको एयरपोर्टमा समेत सुरक्षा सर्तकता बढाएको छ ।


न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्था आर्डेनले घटनालाई आतंककारी आक्रमणको संज्ञा दिदै यो दिन न्युजिल्याण्डको लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छिन् । उनले यस्तो कायर आक्रमणले न्युजिल्याण्डबासीलाई हतोत्साही गर्न नसक्ने बताएकी छिन् । घटनाको बारेमा सञ्चारमाध्यमहरुलाई जानकारी दिदैं घटनाबाट भावुक बनेकी प्रधानमन्त्री आर्डेनले न्युजिल्याण्ड सबैको घर भएको बताउँदै यस्ता सोच तथा घटनालाई सम्पुर्ण न्युजिल्याण्डवासीहरुले अस्वीकार गर्ने बताएकी छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आक्रमणकारी अतिवादी आतंककारी भएको बताउँदै यो समयमा सम्पूर्ण अष्ट्रेयिाली न्युजिल्याण्डको साथमा रहेको बताएका छन् ।


घटनास्थलमा रहेका नेपालीहरुले समेत घटना अत्यासलाग्दो भएको बताए । क्राइष्टचर्चमै रहेको युनिभर्सिटी अफ ओट्टागोमा रिसर्च गर्ने भुवनेश्वर ढकालले आफू ५ मिनेटको दूरीमा रहेको र घटना अकल्पनीय भएको बताए । सुरक्षाकर्मीहरुले जारी गरेको निषेधित क्षेत्रमा घरभित्रै रहेका एनआरएन न्युजिल्याण्डका कार्यवाहक अध्यक्ष घनश्याम सापकोटाले घटना भएको क्षेत्र आसपासमा करिब दुई दर्जन नेपाली परिवार बस्दै आएको जानकारी दिदैं कुनै पनि नेपाली घटनाबाट प्रभावित नभएको बताए ।


उनले घटना अत्यन्तै निन्दनीय भएको बताउँदै पीडितहरुलाई सहयोग पुरयाउन आफूहरुले पहल गरिसकेको समेत बताए । न्युजिल्याण्ड समेत हेर्ने अष्ट्रेलियास्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत दु्रपदा सापकोटाले घटनामा नेपाली हताहत नभएको जानकारी दिईन् ।

प्रकाशित : चैत्र १, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?