सीमा पर्खाल योजना : ट्रम्पले भिटो लगाए

एजेन्सी

वासिङ्टन — अमेरिकी संसदको माथिल्लो सदन सिनेटले राष्ट्रिय संकटकालको घोषणा उल्ट्याउने पक्षमा मतदान गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिटो प्रयोग गरेका छन् । ट्रम्पले मेक्सिको सीमाक्षेत्रमा पर्खाल बनाउने रकम व्यवस्था गर्न संकटकाल घोषणा गरेका थिए ।

सीमा पर्खाल योजना : ट्रम्पले भिटो लगाए

तर उनको निर्णयबारे सिनेटमा भएको मतदानमा सत्तारूढ रिपब्लिकन सदस्यले विद्रोह गरेपछि ट्रम्प भिटो प्रयोग गर्न बाध्य भएका हुन् ।


ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएयता पहिलो पटक भिटो (विशेषाधिकार) प्रयोग गरेका हुन् । ट्रम्पले भनेका छन्, ‘राष्ट्रपतिका रूपमा देशको संरक्षण गर्नु मेरो सबैभन्दा ठूलो कर्तव्य हो ।’


राष्ट्रपतिको भिटो रोक्न संसद्का दुवै सदनमा दुई तिहाइ बहुमतको आवश्यकता पर्छ । जुन तत्कालका लागि असम्भवजस्तै देखिन्छ । यसअघि राष्ट्रपति ट्रम्पले ‘आफ्नो योजना सार्थक पार्न भिटो प्रयोग गर्नुको विकल्प नभएको’ बताएका थिए ।


माथिल्लो सदन सिनेटमा शुक्रबार भएको मतदानमा विभिन्न राज्यका १२ रिपब्लिकन सदस्यले पार्टीको निर्देशन विपरीत ट्रम्पको निर्णयको विपक्षमा मतदान गरेका थिए ।


अमेरिकी सञ्चारमाध्यमका अनुसार उताह राज्यका मिट रोम्नी र माई ली, फ्लोरिडाका मार्को रुबियो, मिसोरीका रोय बल्न्ट, टेनेसीका लमर अलेक्जेन्डर, पेन्सिलभेनियाका पट टुमी विपक्षमा उभिएका हुन् ।


त्यसैगरी, ओहियोका रब पोर्टम्यान, कान्ससका जेरी मोरान, मेइनका सुसान कोलिन्स, अलास्काका लिजा मुर्कोविस्की, केन्टुकीका रान्ड पल र मिसिसिपीका रोगर विकरले ट्रम्प आदेशको अवज्ञा गरे ।


विपक्षी पार्टीको वर्चस्व रहेको हाउस अफ रेप्रिजेन्टेटिभ्सका डेमोक्र्याट दलका एक सदस्यले राष्ट्रपतिको कदम फेरि सदन विफल पार्ने बताएका छन् । सिनेटका डेमोक्र्याट नेता चक सुमरले राष्ट्रपतिको कदमको विपक्षमा मतदान गर्ने सत्तारूढ दलका सिनेटरलाई धन्यवाद दिएका छन् । उनले भने, ‘रिपब्लिकनहरूले साहसी भएर हो वा सिद्धान्तमा अडिग भएर हो राष्ट्रपतिले सीमा नाघ्नबाट रोकेका छन् ।’ बीबीसीले रिपब्लिकन पार्टीका सिनेटरले गरेको विद्रोहले ट्रम्पलाई धक्का दिएको उल्लेख गरेको छ ।


रिपब्लिकन सदस्यहरू पर्खाल निर्माणको विपक्षमा नभई कंग्रेसको संवैधानिक अधिकार मिचेर संकटकाल घोषणा गर्ने राष्ट्रपतिको कदमप्रति क्रुद्ध भएको विश्लेषण गरिएको छ ।

प्रकाशित : चैत्र ३, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?