मोदीको चुनाव लक्षित चौकीदार अभियान 

एजेन्सी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी अप्रिल ११ देखि सुरु हुने लोकसभा चुनावलाई लक्षित गरी ‘म पनि चौकीदार’ अभियान सुरु गरेका छन् । 

मोदीको चुनाव लक्षित चौकीदार अभियान 

‘सबै भारतीय नागरिक कसरी चौकीदार हुन्’ भन्ने विषमा भारतीय जनता पार्टी (भाजपा) ले तयार पारेको भिडियो ट्वीटरमा शनिबार सार्वजनिक गर्दै मोदीले उक्त अभियान सुरु गरेका हुन् । ‘तपाईंका चौकीदारहरू देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । भ्रष्टाचार, गलत कार्य र सामाजिक विकृतिविरुद्ध लड्ने सबै चौकीदार हुन्,’ मोदीले भने ।


मोदीले देशको प्रगतिका लागि कडा मिहिनेत गर्नेलाई पनि चौकीदारको संज्ञा दिँदै ‘आज भारतका सबै नागरिकले म पनि चौकीदार हुँ’ भन्ने गरेको बताए । सन् २०१४ मा भएको निर्वाचनमा आफू चौकीदार बन्न चाहेको बताएका मोदीले पुनः चौकीदारको विषयलाई अभियानको रूपमा सुरु गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरेझैं आफूले देशको संरक्षण गर्न चाहेको मोदीको भनाइ छ ।


कंग्रेस अध्यक्ष राहुल गान्धीले चौकीदार चोर भयो’ भन्ने टिप्पणी गरेपछि भाजपाले त्यसबारे सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी अधिकांश चौकीदारको पक्षमा देखिएकाले ‘म पनि चौकीदार’ अभियान सुरु गरेको मोदीको दाबी छ ।


सर्वेक्षणमा सहभागी कतिपयले चौकीदारलाई होच्याइएको भन्दै रुष्ट भएका अधिकारीहरूले जनाएका छन् । यसअघि मोदीलाई ‘चियावाला’ का रूपमा गरिएको भाजपाको प्रचार प्रभावकारी भएको थियो । भारतमा यही मार्च ३१ देखि निर्वाचन हुन लागेकाले निर्वाचनको दिन नजिकिँदै जाँदा प्रचारप्रसार पनि तीव्र हुन थालेको छ ।

प्रकाशित : चैत्र ३, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?