१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चियावाला चौकीदार

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — भारतमा लोकसभा चुनाव नजिकिँदै नयाँ नयाँ चुनावी ‘स्टन्ट’ ले पनि तीब्रता पाइरहेको छ । यसमा सत्तारूढ भारतीय जनता पार्टी र विपक्षी भारतीय राष्ट्रिय कंग्रेसबीच चर्को प्रतिस्पर्धा छ । 

चियावाला चौकीदार

दुई पार्टीबीच एकपछि अर्को दाऊ खेल्ने क्रम जारी छ । यसै त्रममा भाजपाले ४ वर्षअघि जस्तै चुनावी प्रचारलाई व्यापकता दिन ‘मै भी चौकिदार’ (म पनि चौकीदार) अभियान सुरु गरेको हो । सन् २०१४ मा भाजपाले प्रधानमन्त्रीका उम्मेदार मोदीलाई ‘चायवाला’ (चियाबेच्ने) का रूपमा प्रस्तुत गरेको थियो ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले शनिबार साँझ टिटर हृयाण्डल फेरेर उक्त अभियानको औपचारिक रूपमा सुरुआत गरेका हुन् । त्यसपछि मोदीको ट्वटर ह्यान्डललाई नै चौकीदार नरेन्द्र मोदी बनाइएको छ ।


प्रधानमन्त्री मोदीलाई पछ्याइरहेका छन् पार्टीका वरिष्ठ नेतादेखि मन्त्री, भाजपाका नेता र समर्थकहरूले । पार्टीका अध्यक्ष अमित शाह, मन्त्रीहरू अरुण जेट्लीदेखि नीतीन गडरी, पीयूष गोयललगायतका अधिकांश मन्त्रीहरूले पनि ट्वीटर ह्यान्डलाई परिवर्तन गरेर मोदीप्रति ऐक्यबद्धता जनाएका छन् ।


भाजपा समर्थकहरूमा पनि ट्वीटर ह्यान्डलमा आफ्नो नाम त्यसैगरी फेर्न होडबाजी नै सुरु भएको छ । होडबाजी कतिसम्म छ भन्ने कुराको पुष्टि चौकीदार फिर से र चौकीदार नरेन्द्र मोदी भारतमा ट्वीटर ट्रेन्डमा सबभन्दा माथि रहनुले पनि गर्छ । सन् २०१४ मा सत्ताको नेतृत्व गरेदेखि नै भारतीय प्रधानमन्त्री मोदीले आफू देशको चौकीदार भएको दाबी गर्दै आएका थिए ।


रफाल लडाकु विमान, नीरभ मोदी, विजय माल्याका प्रकरणपछि विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले मोदीप्रति लक्षित गर्दै उल्टो ‘चौकीदार चोर है’ अभियान नै सुरु गरेको छ । विपक्षीको उक्त अभियानले व्यापकता पाउँदै गएपछि भाजपा रक्षात्मक बन्दै गएको थियो । तर, चुनाव नजिकिँदै जाँदा भाजपाले विपक्षीको अभियानलाई निस्तेज पार्न प्रत्याक्रमण गर्ने रणनीतिअनुरूप ‘चौकिदार’ अभियान सुरु गरेको हो ।


यसअघि भारतको आम आद्मी पार्टीकी नेत्री अल्का लाम्बाले प्रधानमन्त्री मोदीलाई लक्षित गर्दै इमान्दार चौकीदार नेपालबाट मगाउन सकिने भएकाले चौकीदारलाई प्रधानमन्त्री बनाउन आग्रह गरेकी थिइन् । लाम्बाको उक्त ट्वीटपछि भारत र नेपालमा उनको चर्को आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि लाम्बाले माफी माग्दै उक्त ट्वीट हटाएकी थिइन् । तर, त्यसको केही दिनपछि नै सत्तारूढ दलले ‘मै भी चौकिदार’ अभियानलाई तीव्रता दिएको हो ।

प्रकाशित : चैत्र ४, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?