कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भारतमा तिब्बती शरणार्थी घटे

एजेन्सी

मुम्बई — भारतमा तिब्बती शरणार्थीको संख्या ७ वर्षमा ४४ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । भारत सरकारको तथ्यांकअनुसार सन् २०११ मा भारतस्थित तिब्बती शरणार्थीको संख्या १ लाख ५० हजार रहेकामा हाल ८५ हजार मात्र छ । 

धर्मशालाका अधिकारीका अनुसार अधिकांश तिब्बतीहरू अमेरिका, क्यानडा, जर्मनी र स्विजरल्यान्ड गइसकेका छन् । केही भने तिब्बतमै फर्केको बताइएको छ । विभिन्न ४० देशमा तिब्बतीको संख्या १ लाख ५० हजार रहेको तिब्बती अधिकारीको भनाइ छ । सन् १९५९ को मार्चमा तिब्बतलाई चीनले कब्जामा लिएको घटनाको यसै महिना ६० वर्ष पुगेको छ ।


३४ वर्षीय कुन्साङ तेन्जिङ पनि अब भारत छाड्ने विचार गर्दै छन् । ‘यहाँ पैसा कमाउन धेरै गार्‍हो छ, जागिर पनि केही छैन,’ उनले भने । कागजातमा बाहेक तिब्बतीलाई भारत सरकारले औपचारिक रूपमा शरणार्थीको मान्यता दिएको छैन । उनीहरूलाई विदेशीका रूपमा लिइन्छ ।


भारतले १९५१ मै राष्ट्रसंघको शरणार्थीसम्बन्धी महासन्धिमा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो । ‘यही कारण तिब्बतीलाई सरकारी जागिर दिइँदैन र कहिलेकाहीँ विश्वविद्यालयले समेत भर्ना लिँदैन,’ धर्मशालास्थित केन्द्रीय तिब्बती प्रशासनका प्रवक्ता सोनाम नोर्बु दाग्पोले भने । उनका अनुसार तिब्बतबाट भागेर आउनेको संख्या पनि घटेको छ । विगतमा १ वर्षमा ३ हजार जनासम्म आउने गरेकोमा गत वर्ष १ सय जनामात्र आए ।


तिब्बतीलाई आर्थिक समस्या प्रमुख रूपमा रहेको छ । उनीहरूलाई कुनै पनि सम्पक्ति खरिदबित्री गर्न या बैंक क्रेडिट कार्ड लिन मुस्किल छ । पछिल्लो समय भारतीय सरकारले कर्मचारी र नेतालाई प्रवासी तिब्बती सरकारको कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्तापछि यस्तो निर्देशन आएको थियो ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?