१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अस्ट्रेलियाले आप्रवासी कटौती गर्ने

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले वार्षिक ३० हजार आप्रवासी कटौती गर्ने घोषणा गरेका छन् । सरकारको जनसंख्या नीति बुधबार सार्वजनिक गर्दै उनले यो घोषणा गरेका हुन् । 

अस्ट्रेलियाले हरेक वर्ष १ लाख ९० हजार विदेशी नागरिकलाई आफ्नो देशमा भित्र्याउने गरेको छ । प्रधानमन्त्री मरिसनले यो संख्या घटाएर १ लाख ६० हजार बनाउने घोषणा गरेका हुन् । मरिसनले ४ वर्षका लागि यो संख्या कायम राख्नेसमेत बताएका छन् ।


अस्ट्रेलियाले वार्षिक रूपमा आप्रवासीको संख्या कम गर्नुपर्ने अन्य विभिन्न पक्ष तथा साना दलबाट आवाज उठिरहेको सन्दर्भमा मरिसनको यो घोषणा सार्वजनिक भएको हो । मरिसनले अस्ट्रेलियाको जनसंख्या व्यवस्थापन आप्रवासीलाई भित्र्याउनु मात्र नभएर भौतिक संरचना, ट्राफिक व्यवस्थापन, रोजगारलगायतको व्यवस्था हुनु पनि उत्तिकै महत्त्वपूर्ण भएको बताएका छन् ।


प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका मुख्य सहरमा बढदै गएको जनसंख्याको चाप कम गर्न फरक भिसा प्रक्रियाको समेत घोषणा गरेका छन् । यसअनुसार दक्ष, सीपसहितको भिसामा अस्ट्रेलिया आएका विदेशीले यहाँको स्थायी बासिन्दाको अनुमतिपत्र (पीआर) लिन दुर्गम स्थानमा गएर ३ वर्षसम्म बस्नुपर्नेछ । उनीहरूलाई भिसाको प्रोसेसिङमा समेत प्राथमिकता दिइने उल्लेख गरिएको छ ।


यसैगरी विद्यार्थीलाई पनि दुर्गम मानिएका क्षेत्रमा गएर अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने किसिमले छाक्रवृत्ति लगायतका कार्यत्रमसमेत ल्याइने बताइएको छ । अहिलेसम्म दुर्गम क्षेत्रमा गएर दुई वर्ष बसेको अवस्थामा यहाँको स्थायी बासिन्दाको अनुमतिका लागि योग्य हुने प्रावधान थियो ।


पछिल्लो समयमा आप्रवासीका रूपमा अस्ट्रेलिया भित्रिएका तथा विद्यार्थीहरू अधिकांशको रोजाइ सिड्नी, मेलबर्न लगायतका मुख्य सहर भएपछि देखिएको चाप कम गर्नसमेत यो भिसाको घोषणा गरिएको बताइएको छ । यसका साथै सरकारले ७५ अर्ब डलरको भौतिक संरचना निर्माणका लागि बजेट छुट्टयाउनेसमेत घोषणा गरेको छ ।


जसबाट जनसंख्याको वृद्धिसँगै रोजगार र भौतिक संरचनाको निर्माण र विकास हुने आशा गरिएको छ । अस्ट्रेलियाले दुर्गम मानिएका क्षेत्रहरूमा आवश्यकताअनुसार दक्ष कामदार उपलब्ध हुन नसकेको अवस्थामा सरकारको यो घोषणाले कामदार अभावलाई पूर्ति गर्ने विश्वास लिइएको छ ।


अस्ट्रेलियाले सन् २०१५ देखि वार्षिक १ लाख ९० हजार आप्रवासीलाई भित्र्याउने योजना लिएको हो । तथ्यांकअनुसार गत आर्थिक वर्षमा करिब १ लाख ६३ हजार आप्रवासी अस्ट्रेलिया भित्रिएका भए पनि १ लाख १२ हजार सिड्नी तथा मेलबर्नमा बसोबास गरेका थिए ।


यहाँ आएपछि बढी जनसंख्या भएका सहरमा आप्रवासीहरू थपिँदा जनसंख्याको चाप बढेका कारणसमेत सरकारले यो कदम चालेको हो । जनसंख्याको चाप बढ्दै गएपछि न्यु साउथ वेल्स तथा भिक्टोरिया राज्य सरकारले समेत आप्रवासी संख्या घटाउनुपर्ने बताउँदै आएका थिए ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?