कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नीरव मोदी लन्डनमा पक्राउ

एजेन्सी

लन्डन — पञ्जाब नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हीरा व्यापारी नीरव मोदी लन्डनमा पक्राउ परेका छन् । 

नीरव मोदी लन्डनमा पक्राउ

मोदीलाई लन्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार गिरफ्तार गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटीको माग अस्वीकार गरिएको छ । उनलाई अब ९ दिन हिरासतमा राखिनेछ भने अर्को सुनुवाइ २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरू सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लन्डन जानेछन् ।

पञ्जाब बैंकको घोटाला सार्वजनिक हुनुपूर्व नै उनी गतवर्ष लन्डन भागेका थिए । यही मार्चको पहिलो साता बेलायतको टेलिग्राफ पत्रिकाले उनी लन्डनको वेस्ट इन्डस्थित ८० लाख पाउन्डको अपार्टमेन्टमा बस्दै आएको खुलासा गर्दै भिडियोसहितको समाचार प्रकाशित गरेपछि नीरवको सुपुर्दगीका लागि बेलायती अदालतमा कानुनी प्रक्रिया सुरु गरिएको थियो । यसअघि गत अगस्टमै उनलाई सुपुर्दगी गर्न भारतले बेलायतसँग माग गरेको थियो । यो घोटाला भारतको सबैभन्दा ठूलो बैंक घोटाला मानिएको छ ।

बैंकले २०१८ मा मोदी र उनका काका मेहुल चोकसी नेतृत्वको ज्वेलरी समूहमाथि नक्कली बैंक ग्यारेन्टी राखेर ऋण लिई धोकाधडी गरेको आरोप लगाएको थियो । तर यो विषय सार्वजनिक हुनुपूर्व नै दुवैले गोप्य रूपमा भारत छाडेका थिए । भारतीय अधिकारीको अनुरोधमा इन्टरपोलले गत जुलाईमा मोदीविरुद्ध रेडकर्नर नोटिससमेत जारी गरेको थियो ।

को हुन् नीरव मोदी ?

मोदी चर्चित हीरा व्यापारी हुन् । उनी ज्वेलरी डिजाइनर कम्पनी ‘फायरस्टार डायमन्ड’ का संस्थापक हुन् भने उनका गहनाका ग्राहक केन्ट विन्स्लेट, रोजी हन्टिङटन, प्रियंका चोपडा, नाओमी वाट्स, कोको रोशा, ऐश्वर्य राय, लिजा हेडेन लगायतका विश्वचर्चित व्यक्ति छन् । उनका परिवार नै हिरा कारोबारमा संलग्न छ ।

बेल्जियमको एन्टवर्प सहरमा हुर्किएका उनी युवा उमेरदेखि नै आर्ट र डिजाइनमा चासो राख्थे । यही कारण उनी युरोपका म्युजियममा आउजाउ गरिरहन्थे । भारत आएपछि उनले हीरा व्यापारसम्बन्धी सबै विषयमा तालिम लिए र १९९९ मा फायरस्टार खोले । यो एक हीरा सोर्सिङ र व्यापारको कम्पनी हो ।

उनी सन् २०१३ मा फोर्ब्सको अर्बपतिको सूचीमा परेका थिए । मोदीको डिजाइनर बुटिक लन्डन, न्युयोर्क, लास भेगास, हवाई, सिंगापुर, बेइजिङ र मकाउमा छ । भारतमा उनको स्टोर मुम्बई र दिल्लीमा छ । उनले आफ्नै नाममा २०१० देखि ग्लोबल डायमन्ड ज्वेलरी हाउस खोले । यसको मुख्यालय भारतको मुम्बईमा छ । भारतीय विदेश मन्त्रालयले पासपोर्ट रद्द गरे पनि उनले ३ देशको यात्रा गरिसकेको बताइएको छ ।

राजनीतिक टिप्पणी

मोदीको गिरफ्तारीका विषयमा राजनीतिक टिप्पणी सुरु भएको छ । उनको पक्राउले आसन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई फाइदा पुग्ने आँकलन गरिएको छ ।

विपक्षी कांग्रेस नेता गुलाम नबी आजादले भाजपाले पहिले नीरव मोदीलाई देशबाट भगाउन सघाएको र चुनावका कारण भारत ल्याउन लागेको टिप्पणी गरेका छन् ।

यसैबीच, अदालतले मोदीका ११ कार र १७३ पेन्टिङ लिलाम गर्न अनुमति दिएको छ । यसका साथै उनको भारत तथा विदेशमा रहेको १७२५.३६ करोड भारतीय रुपियाँ बराबरको सम्पत्ति जफत गरिएको छ ।

नीरव मोदी समूहसँग सम्बन्धित ४८९.७५ करोड रुपैयाँको सुन, हीरा लगायतका बहुमूल्य सामान जफत गरिएको छ । यसअघि महाराष्ट्रको अलिबागमा रहेको मोदीको बंगला डाइनामाइटबाट ध्वस्त बनाइएको छ । उक्त बंगलाको मूल्य १ सय करोड रहेको बताइएको छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?