कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मायावती नउठ्ने

एजेन्सी

लखनउ — भारतको उत्तर प्रदेश राज्यकी प्रभावशाली नेतृ मायावतीले आगामी लोकसभा चुनावमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्  । मायावतीले ‘एक अप्रत्यासित निर्णय गर्दै चुनावमा भाग नलिने बरु उत्तर प्रदेशको सत्तारूढ दल भाजपालाई परास्त गर्न गठबन्धनमा ध्यान केन्द्रित गर्ने’ बताइन्  ।

मायावती नउठ्ने

४ पटकसम्म उत्तर प्रदेशको मुख्यमन्त्री बनेकी मायावती उत्तर प्रदेशको दलित समुदायकी ‘आइकन’ मानिन्छन् । भारतीय लोकसभाका लागि उत्तर प्रदेशबाट सबैभन्दा बढी सांसद चुनिन्छन् ।

भारतमा आगामी अप्रिल ११ देखि विभिन्न चरणमा हुने चुनावको नतिजा मे २३ मा आउने बताइएको छ । चुनावमा कुनै पनि दलले स्पष्ट नतिजा नल्याउने आंकलन गरिएकाले पनि मायावतीको बहुजन समाज पार्टी (बीएसपी) सरकार गठनका लागि ‘किङमेकर’ हुने ठानिएको छ ।

मायावतीले एक पत्रकार सम्मेलनमा बोल्दै ‘आफू चुनावी प्रतिस्पर्धामा नउत्रने’ बताइन् । उनले भनिन्, ‘मैले चाहेको खण्डमा जुनसुकै समयमा लोकसभा चुनाव जित्छु ।’ मायावतीले राजनीतिक परिस्थितिलाई ख्याल गर्दै आफू लोकसभा चुनामा नउठ्ने निर्णय गरेको बताइन् ।

‘म कुनै पनि हालतमा गठबन्धलाई कमजोर हुन दिन्नँ,’ मायावतीले भनिन्, ‘मैले जित्नुभन्दा धेरैभन्दा धेरै सिट जित्नु बढी महत्त्वपूर्ण छ ।’ मायावतीको बीएसपीले समाजवादी पार्टी (एसपी) सँग चुनावी गठबन्धन गरेको छ । उक्त गठबन्धन सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) विरुद्ध देशव्यापी रूपमै उत्रेको छ ।

मायावतीको जीवनी लेखेका पत्रकार अजय बोसले ‘मायावतीको निर्णय अनौठो रहेको’ बताए । उनले मायावतीको निर्णयले उनी दलीय राजनीतिभन्दा माथि रहेको सन्देश दिएको दाबी गरे । ‘मायावतीले आफ्नो छवि सुधार्न कोसिस गरेकी छन्,’ बोसले भने ।

मायावती भारतीय राजनीतिमा एक सफल राजनीतिज्ञका रूपमा परिचित छन् । कानुनको अध्ययन गरेकी उनी राजनीतिमा प्रवेश गर्नुअघि शिक्षिका थिइन् । बीएसपी दलको स्थापना गरेका दलित नेता काशी राम उनका राजनीतिक गुरु थिए । छोटो समयको राजनीतिमै चर्चित भएकी मायावती ३९ वर्षको उमेरमा सन् १९९५ मा उत्तर प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् ।

उनी कम उमेरमा भारतको मुख्यमन्त्री हुने राजनीतिज्ञ हुन् । यद्यपि, उनी विवादबाट मुक्त भने रहिनन् । आफ्नो राजनीतिक यात्रामा उनीमाथि पटक–पटक भ्रष्ट्राचारको आरोप लाग्यो । उनले आफ्नो तथा आफन्तको नाममा दसौं लाख डलर बराबरको सम्पत्ति राखेको दाबी गरिएको छ । उनी आफ्नो जन्मदिनमा बहुमूल्य हीराका गहनासहित देखिने भएकाले सञ्चारमाध्यमको ध्यान तानिन्थ्यो ।

आलोचकहरूले उनीमाथि राज्यस्रोतको दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् । भारतकै गरिब तथा उच्च अपराध भएको राज्यमा आफ्नो दलको चुनावचिह्न ‘हात्ती’ का ७५ वटा मूर्ति बनाएको भन्दै उनको आलोचना भएको थियो । २०१२ को चुनावमा पराजित भएपछि माथिल्लो सदन राज्यसभामा मनोनीत मायवतीले २०१७ मा पद त्यागेकी थिइन् ।

प्रकाशित : चैत्र ८, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?