२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गम्भीरले सुरु गरे राजनीतिक इनिङ

सुरेशराज न्यौपाने

नयाँदिल्ली — एक वर्षअघि सक्रिय खेलजीवनबाट संन्यास लिएका भारतीय क्रिकेटर गौतम गम्भीरले लोकसभा चुनावको मुखैमा राजनीति इनिङ सुरु गरेका छन् । भारतीय सफल क्रिकेटरका रूपमा ख्याति कमाएका गम्भीरले शुक्रबार औपचारिक रूपमै भारतीय जनता पार्टी -भाजपा) प्रवेश गरे ।

गम्भीरले सुरु गरे राजनीतिक इनिङ

नयाँदिल्लीस्थित भाजपा पार्टी मुख्यालयमा अर्थमन्त्री अरुण जेट्ली र युनियन मन्त्री रविशंकर प्रसादको उपस्थितिमा उनले त्यस्तो घोषणा गरे ।


३७ वर्षीय गम्भीरले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणाले भाजपा प्रवेश गरेको जनाए । पार्टी प्रवेशपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'मैले क्रिकेटमा सबैथोक गरे पनि देशका लागि केही गर्न राजनीति नै उत्तम मञ्च हो ।'


भारतलाई सन् २००७ को टी ट्वान्टी र २०११ को आईसीसी विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका देब्रेहाते ब्याट्सम्यानको राजनीतिक यात्राबारे केही महिनादेखि अनुमान गरिँदै आएको थियो । त्यससँगै हालैका उनका राजनीतिक अभिव्यक्तिले पनि गम्भीर राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने आँकलन गरिएको थियो ।


कश्मीरको पुलवामामा गत महिना ४० अर्धसैनिक जवानको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि पाकिस्तान लक्षित उनको टिप्पणीबारे भारतमा निकै चर्चा भएको थियो । घटनालगत्तै ट्वीट गर्दै गम्भीरले भनेका थिए, 'हो, अब पृथकतावादीसँग वार्ता गरौं । पाकिस्तानसँग वार्ता गरौं । तर, यस पटकको वार्ता टेबुलमा नभएर युद्धको मैदान हुनेछ । यो त अति भो ।' त्यसैगरी उनले गतसाता आगामी विश्वकपमा अंक गुमे पनि भारतले पाकिस्तानविरुद्धको म्याच बहिस्कार गर्नुपर्ने बताएका थिए । आगामी जुनमा इंग्ल्यान्डमा हुन गइरहेको आईसीसी विश्वकपमा भारत र पाकिस्तान एकै समूहमा छन् । दुई देशबीच बढदो तनावपछि गम्भीरले दिएको अभिव्यक्तिलाई सत्तारूढ दल भाजपासँगको बढो निकटतासँग जोडेर हेरिएको थियो । त्यसकारण पनि गम्भीर ढिलोचाँडो भाजपा प्रवेश गर्ने अनुमान गरिएको थियो ।


भारतीय सञ्चारमाध्यमका अनुसार आगामी लोकसभा चुनावमा भाजपाले गम्भीरलाई दिल्लीबाट उम्मेदवार बनाउन सक्ने जनाएका छन् । गम्भीरलाई हालै मात्र भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मान गरेको थियो । अर्थमन्त्री जेट्लीले नयाँदिल्लीसँग विशेष सम्बन्ध रहेकाले गम्भीरको भाजपा प्रवेश पार्टीका लागि महत्त्वपूर्ण हुने बताए । गम्भीरको प्रतिभालाई पार्टीले बढीभन्दा बढी सदुपयोग गर्ने जेट्लीको दाबी छ ।


प्रकाशित : चैत्र ८, २०७५ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?