विहारमा विपक्षीले बाँडे सिट

राष्ट्रिय जनता दल २० र भारतीय राष्ट्रिय कंग्रेसले ९ सिटका लागि प्रतिस्पर्धा गर्ने
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा आगामी महिना हुने लोकसभा चुनावका लागि विहार राज्यका सिट बाँडफाँडमा विपक्षी दलको महागठबन्धनमा सहमित जुटेको छ । महागठबन्धनमा आवद्ध राष्ट्रिय जनता दल (आरजेडी), भारतीय राष्ट्रिय कंग्रेसलगायतका विपक्षी दलहरूबीच शुक्रबार ४० सिटको भागबण्डा विवाद टुंगिएको हो । 

विहारका ४० सिटमध्ये लालुप्रसाद यादवको आरजेडीको भागमा २० र कंग्रेसको भागमा ९ सिट परेका छन् । १२ सिट गठबन्धनका अन्य दलले पाउने भएका छन् ।


केही सातादेखि आरजेडी र कंग्रेसबीच सिट बाँडफाँडबारे छलफल भए पनि सहमति हुन सकेको थिएन । कंग्रेसले ११ सिट दाबी गर्दै आएको थियो भने आरजेडीले गठबन्धनका अन्य दललाई पनि समेट्नुपर्ने भएकाले बढीमा ९ सिट दिन सक्ने अडान लिएको थियो ।

आरजेडी अध्यक्ष लालुप्रसाद यादवका छोरा तेजस्वी यादव र कंग्रेस अध्यक्ष राहुल गान्धीबीचको नियमित सम्पर्क र छलफलपछि सहमति भएको जनाइएको छ ।


लोकतान्त्रिक जनता दलका शरद यादबले आरजेडीबाट चुनाव लड्ने भएका छन् । आरजेडी प्रवक्ता मनोज झाले यादवको दल चुनावलगत्तै आरजेडीमा मिल्ने बताए ।


लोकसभामा प्रतिनिधित्व गर्ने आधारमा भारतका २९ राज्यमध्ये उत्तर प्रदेश, महाराष्ट्र र पश्चिम बंगालपछि विहार चौथो ठूलो राज्य हो । त्यसैले पनि विहारको चुनावी गठबन्धन र परिणामलाई लिएर भारतीय राजनीतिक वृत्तमा विशेष चासो छ । अर्कोतर्फ सन् २०१४ को लोकसभा चुनाव भएयता विहारको राजनीतिक समीकरणमा ठूलो परिवर्तन भइसकेको छ । उक्त चुनावमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले ३१ सिट जितेको थियो ।


विहारका मुख्यमन्त्री नीतिश कुमार नेतृत्वको जनता दल युनाइटेड (जेडीयू) समेत आरजेडीसँगै गठबन्धनमा आवद्ध थियो । त्यसको एक वर्षपछिको विधानसभा चुनावमा समेत जेडीयू, आरजेडी लगायतका दलले सँगै चुनाव लडेका थिए । तर, २०१७ मा नीतिशले भाजपासँग मिलेर प्रदेश सरकारको नेतृत्व गरेपछि विहारको राजनीतिक अंक गणित बदलिएको छ ।


विशेषगरी मुस्लिम मतदातामाझ लोकप्रिय मानिएका नीतिशले मतदातालाई धोका दिएको आरजेडीलगायतका दलको आरोप छ । त्यही कारण चारा घोटाला काण्डमा जेल परेका लालु र उनको दल आरजेडी विशेष आक्रामक देखिएको छ । विहारमा विपक्षी दलमध्ये आरजेडीको विशेष प्रभाव रहेको मानिन्छ ।


सत्तारूढ दल भाजपाले पनि विहारलाई विशेष प्राथमिकता दिने गरेको छ । विपक्षी गठबन्धनलाई परास्त गर्न अघिल्लो चुनावमा एक्लैले २२ सिट जितेको भए पनि आगामी लोकसभा चुनावका लागि भाजपाले १७ सिटमा मात्र लड्ने सहमति गरेको छ । १७ सिट नीतिशको जेडीयूलाई र बाँकी ६ सिट साना दललाई दिनसमेत भाजपा तयार भएको छ । भाजपा निर्णयलाई राजनीतिक विश्लेषकले आफ्नो गठबन्धनको पक्षमा परिणाम ल्याउने रणनीतिका रूपमा अर्थ्याएका छन् ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?