बन्दुकधारीद्वारा १३० को हत्या 

राष्ट्रसंघद्वारा भर्त्सना
एजेन्सी

बामाको — पश्चिम अफ्रिकी देश मालीमा बन्दुकधारी समूहले गरेको आक्रमणमा कम्तीमा १३० को ज्यान गएको छ । ठूलो समूहमा आएका बन्दुकधारीले देशको मध्यभागमा पर्ने अगोसागा पेउल गाउँलाई शनिबार घेरा हाली आक्रमण गरेका हुन् ।

घटनामा कम्तीमा ५५ घाइते छन् । घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बन्दुकधारी समूहले गाउँका फुलानी समुदायमाथि आक्रमण गरेका हुन् । जग्गा तथा सिँचाइ विवादका कारण फुलान र डोगोन समुदायबीच पटकपटक हिंसात्मक घटना हुने गरेका छन् ।


मालीमा बढ्दो हिंसाबारे छलफल गर्न राष्ट्रसंघीय राजदूतहरू भेला भएका समयमा घटना भएको हो । राष्ट्रसंघीय सुरक्षा परिषद् नियोगले मालीमा जिहादी लडाकुबाट बढ्दो खतराबारे प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ । समाचार संस्था एएफपीले एक गाउँलेलाई उद्धृत गर्दै बन्दुकधारी समूहले कतिपय घरमा आगो लगाएको जनाएको छ । आक्रमणस्थलबाट नजिकको गाउँ क्वेन्कोरोका मेयरले घटनालाई ‘नरसंहार’ को संज्ञा दिए ।


घटनाको संयुक्त राष्ट्रसंघले भर्त्सना गरेको छ । ‘राष्ट्रसंघ महासचिवले मालीको एक ग्रामीण वस्तीलाई घेरा हाली बन्दुकधारी समूहले गरेको आक्रमणको घोर भर्त्सना गर्नुभएको छ,’ राष्ट्रसंघीय महासचिव प्रमुख गुटेरेसका सह–प्रवक्ता फारहन हकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


गुटेरेसले माली घटनाबारे तत्काल अनुसन्धान गरी आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा पीडितलाई न्याय दिलाउन मालीका अधिकारीलाई आग्रह गरेका छन् । साथै, उनले मृतकका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । विज्ञप्ति अनुसार महासचिव गुटेरेसले मालीका अधिकारीलाई देशमा शान्ति तथा स्थायित्व ल्याउने प्रयास दोब्बर पार्न समेत आग्रह गरेका छन् ।

प्रकाशित : चैत्र ११, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?